| आइतवार, कार्तिक २२, २०८३

बुंकोटमा भुकम्प प्रतिरोधी नमुना भवन उद्घाटन

गोरखाको शहिद लखन गाउँपालिका ७ मा निर्माण भएको तिन वटा भुकम्प प्रतिरोधी नमुना भवनको उद्घाटन गरिएको छ । चिलाउने चौतारा, देउराली र लाखेडाँडामा निर्माण भएको नमुना भवन राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।

सि आर एस को आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्र गोरखाले गोरखा भुकम्प पुनर्निमाण तथा पुर्नउत्थान कार्यक्रम अन्तरगत अर्धदक्ष कालिगढ उत्पादन गर्ने क्रममा भवन निर्माण गरेको हो ।

चिलाउने चौतारामा निर्माण भएको भवन उज्यालो निगरानी महिला समुहलाई, देउरालीमा निर्माण भएको भवन देउराली आमा समुहलाई र लाखेडाँडामा निर्माण भएको भवन लाखेडाडाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

संस्थाले तिन ठाउँमा नै भुकम्प प्रतिरोधी घर निर्माणका लागि ५० दिने अर्धदक्ष कालिगढ तालिम सञ्चालन गरेको थियो । तालिमबाट ३० जना अर्धदक्ष कालिगढ तयार भएका छन् ।

उनिहरुले तालिममा सिक्ने क्रममा भवन निर्माण गरेका पद्धति विकास सेवा केन्द्रका कार्यक्रम ब्यबस्थापक रविन अधिकारीले जानकारी दिए । सबै भवन दुई कोठे छन् ।

साथमा शौचालय पनि निर्माण गरिएको छ । करीब ६४ लाख रुपैयाँको लागतमा तिन ठाउँमा तालिम सञ्चालन गर्नुका साथै भवन तथा शौचालय निर्माण गरिएको अधिकारीले बताए ।
वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा देउरालीमा भएको भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा विपक्षी दलका नेता पाण्डे, गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङ,जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ८ का अध्यक्ष काशीनाथ अम्गाई, राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख रामशरण आचार्य, गैह्र सरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठ, पद्धति विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, मिना अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्