| आइतवार, कार्तिक २२, २०८३

budi-gandaki-hydro

मुआब्जा माग्दै धादिङ सदरमुकाममा प्रदर्शन

बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य बजार क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा तोक्न ढिलाई भएको भन्दै सरोकारवालाले सदरमुकाममा विरोध जुलुस प्रदर्शन गरेका छन् । विगत ४ वर्षदेखि जग्गा रोक्का राखेर हालसम्म पनि मुआब्जा तोक्न अलमल गरेको भन्दै ऐतिहासिक आरुघाट र खहरे बजारवासीले सदरमुकाममा २ घण्टा चक्काजाम गरी विरोध जुलुस प्रदर्शन गरेका हुन् ।
जुलुस बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेको थियो।
पीडित क्षेत्रका बासिन्दाले प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई ज्ञापन पत्रसमेत हस्तातरण गरेका थिए। ‘आयोजनाको डुबान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा २ वर्षअघि नै निर्धारण भई अधिकांश डुबान क्षेत्रका बासिन्दाले करिब २० अरब रुपैयाँ बुझिसके पनि बजार क्षेत्रको भने मुआब्जा नै निर्धारण गर्न नसकेर अलमल गरिएको’ आयोजना सरोकार समिति अध्यक्ष दिनेश ढकालले बताए।

बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत बजार तथा धादिङको विशालनगर र खहरे बजारको मुआब्जा निर्धारण हुन बाँकी छ।

मुआब्जा दिन नसके विरोध चर्किने, धेरै मुआब्जा निर्धारण गर्दा प्रशासनिक र कानुनी झमेलामा पर्ने डरले प्रमुख जिल्ला अधिकारीहरु मुआब्जा निर्धारणमा ढिलासुस्ती गरिरहेका छन्। आरुघाट बजारका बासिन्दाले भने छिटो मुआब्जा निर्धारण गर्न माग गर्दै स्थानीय बजार बन्ददेखि जिल्ला प्रशासन कार्यालय घेराउसम्मका कार्यक्रम गर्दै आएका छन्। बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रको जग्गाको मुआब्जा गोरखातर्फ २०७३ मंसिरमा र धादिङतर्फ त्यसै वर्षको पुसमा निर्धारण गरिएको थियो। त्यतिबेला बजार क्षेत्रलाई छुटाएर अन्य ठाउँको मुआब्जा तोकिएको थियो। त्यसयता गोरखा र धादिङ जिल्लाका ३/३ जना सीडीओ सरुवा भइसके पनि बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्