सरकारले किसानहरुलाई परिचय पत्र वितरण गर्ने
सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि उत्पादन बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्नेगरी किसानहरुलाई आउँदाे आर्थिक वर्षबाट परिचय पत्र वितरण गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।
मंगलबार संघीय संसदको राष्ट्रिय सभाको बैठकमा सांसदहरुसँगको ‘प्रश्नोत्तर’ कार्यक्रमका बोल्दै उहाँले दूध पोख्नु नपर्ने र तरकारी खेतीमा डोजर लगाउने अवस्था आउन नदिन सरकारले अल्पकालीन र दीर्घकालीन योजना तय गरेको दावी पनि गर्नुभयो ।
मन्त्री खनालले पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य पूरा गर्न सरकारले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले कृषि उत्पादनलाई दोब्बर बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार किसानहरुलाई अनुदान, बीउ, मल, सिँचाईलगायतका सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएकोस्पष्ट पार्नुभयो ।
बैठकमा सांसदहरु राधेश्याम अधिकारी, तारादेवी भट्ट, रामनारायण बिडारी, विमला पौडेल राई, बद्री पाण्डे, अनिता देवकोटा, कमला कुमारी ओलीले कृषि उत्पादनलाई दोब्बर बनाउने र यसको निर्यात व्यापारलाई बढाउन सरकारको आवश्यक योजना के छ ? भनी मन्त्री खनाललाई प्रश्न गर्नुभएको थियो ।




