
बूढिगण्डकी जलविद्युत आयोजनाको संसदिय समितिले अनुगमन गर्ने
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बूढिगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईका कारण खोज्ने भएको छ । सरकारले राष्ट्रिय गौरवका रुपमा राखेको बुढिगण्डकी जलविद्युत आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै समितिले सांसद सुरेन्द्रराज पाण्डेलाई यस आयोजनाका बारेमा विस्तृतमा जानकारी लिन जिम्मेवारी दिएको छ । समितिको सोमबारको बैठकले राष्ट्रिय गौरवका आयोजना नै समस्यामा फसेको, वर्षौं वर्षसम्म पनि सम्पन्न हुने अवस्थामा नपुगेको भन्दै किन त्यस्तो भएको हो, जानकारी लिने निर्णय भएको सभापति दिलकुमारी रावलले जानकारी दिईन् । समितिले सांसद पाण्डेलाई बूढीगण्डकी आयोजनाको अनुमगन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
समितिले राष्ट्रिय गौरवका आयोजनाको वास्तविक वस्तुस्थिति बुझ्ने, अवस्था, आवश्यकता, चुनौती र समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशनसमेत दिने भएको छ। राष्ट्रिय महत्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा आयोजनाको लागत समेत बढेको विषयमा समितिका सदस्यले चिन्ता व्यक्त गरका थिए । बुढिगण्डकी सहित २१ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।




