| आइतवार, कार्तिक २२, २०८३

चेपेखोलामा जलविद्युत्‌काे तयारी

गोरखा र लमजुङको सीमा चेपे नदीमा जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको छ । आगामी वैशाखबाट जलविद्युत्को निर्माण थालिने आयोजनाले जनाएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ दूधपोखरीमा ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको हो । २०७४ जेठ १५ मा विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको आयोजनाले निर्माण सुरु गरेको २ वर्षमा आयोजना सक्ने प्रक्षेपण गरेको छ । प्राधिकरणसँग सम्झौताअनुसार चेपेखोलाको व्यावसायिक विद्युत् उत्पादन मिति (आरसीओडी) २०७८ फागुन ९ लाई तोकेको छ ।

आशुतोष इनर्जी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजना सबै स्वदेशी लगानीको हो । संस्थाका निर्देशक किरण चिलुवालले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जग्गा खरिदका काम सक्ने बताए । त्यसपछि निर्माण कम्पनीका लागि टेन्डर गरेर छनोटकार्य सुरु हुनेछ । ‘जग्गाको काम पहिले नै गर्नुपर्ने हो । विवाद र असहमति नभएकाले हामीले पूर्वाधार निर्माणकै क्रममा जग्गाको काम गर्ने भयौं,’ उनले भने ।

आयोजनाका बाँध लमजुङको दूधपोखरी गाउँपालिका १, माझीगाउँबेंसीमा रहनेछ । विद्युत्गृह कुनाकाटमा निर्माण हुनेछ । बाँधदेखि पावरहाउससम्म ३ हजार १ सय ५० मिटरको पेनस्टक पाइप रहने उनले बताए । आयोजनाको ग्रसहेड २ सय २९ मिटर रहनेछ । विद्युत्गृहमा २ वटा पेल्टन टर्बाइन जडान गरिनेछ ।

आयोजनाबाट वार्षिक ५१ दशमलव ५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । हिउँद (सुक्खा) याममा ३० दशमलव ९५ गिगावाट र वर्षायाममा ६९ प्रतिशत ०५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने उनले बताए । आयोजनाले चलनचल्तीको दरअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए गरेको छ ।

१ अर्ब ६४ करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको उक्त आयोजनामा ७० प्रतिशत बैंकको ऋण लगानी हुनेछ । ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी (इक्विटी) रहने छ । वित्तीय व्यवस्थापनको काम भइरहेको प्रवद्र्धक कम्पनीका निर्देशक चिलुवालले बताए । ‘हामी फाइनान्सियल क्लोजिङका लागि काम गरिरहेका छौं । यो फाइनल भएपछि हामी पूर्वाधारका काम अघि बढाउँछौं,’ उनले भने ।

गोरखा र लमजुङको सिमानामा उत्पादित विद्युत् १६ किलोमिटर टाढा निर्माणाधीन दोर्दी करिडोरको सबस्टेसनमा जोडिनेछ । दोर्दी करिडोरमा निर्माणाधीन आयोजनाका लागि निर्माणाधीन १३२ केभीको प्रसारण लाइनको सबस्टेसन ढोडेनीको कीतिपुरबेंसीमा निर्माण सुरु गरिएको छ । विद्युत्गृहदेखि कीर्तिपुरबेंसीसम्मको प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्ने निर्देशक चिलुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्