
गण्डकीको पूर्वाधार विकास : ११ अर्बमा ६० करोड खर्च
दरौंदी : बजेट कार्यान्वयन नै गर्न नसकेको आरोप खेपिरहेको गण्डकी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिमसम्म सबै बजेट खर्च हुने तथ्यांकसहित दाबी गरेको छ । २४ अर्ब २ करोड ३३ लाखको बजेट तर्जुमा गरेको गण्डकी प्रदेश सरकारले सबभन्दा बढी भौतिक पूर्वाधार बिकासमा छुट्याएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा १० अर्ब ७५ करोड बजेट छ । पूर्वाधार निर्माणका लागि धमाधम बोलपत्र आहृवान भएको र ६० करोड रुपैयाँ खर्च भइसकेको भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको दाबी छ । २०७४ माघ २८ गते स्थापना भएको भौतिक मन्त्रालय मातहत विभिन्न निर्देशनालय र कार्यालय गरी २९ निकाय छन् । ती सबैमा ३१० कर्मचारी छन् । यी प्रशासनिक संरचना बनाउन मंसिरसम्म लागेको र त्यसयता धमाधम टेन्डर आहृवान र ठेका सम्झौता भइरहेको मन्त्री बस्नेतको दावी छ । यो रफ्तारमा काम गर्र्दा आर्थिक वर्षको अन्त्यसम्म बजेट नसकिने होइन, अपुग नै हुने मन्त्री बस्नेतले बताए । उनले भने, ‘संघीय सरकारबाट हस्तान्तरित सडक, सिँचाइ, खानेपानी, भवन जस्ता क्षेत्रमा हालको ४ अर्ब ४२ करोड अपुग हुने देखेर केन्द्र सरकारको अर्थ मन्त्रालयसँग थप ४ अर्ब १४ करोड रकम माग गरेका छौं ।’




