
छेकम्पारको चिज उद्योग बन्द
दुर्गम गाउँ छेकम्पारमा सञ्चालित चीज उद्योग पहिलो उत्पादनपछि बन्द भएको छ । करिब १० लाख रुपैयाँको लागतमा निर्माण भएको चीज उद्योग गत कात्तिक महिनादेखि बन्द भएको हो । लागत अनुसारको बजारमूल्य नपाएपछि चीज उत्पादन बन्द गर्नुपरेको सञ्चालक कर्मा छे्योम्बेल लामा बताउँछन् । एक पटक मात्र उत्पादन गरेर उद्योग बन्द गरेको उनले बताए । ‘एक किलोग्राम घ्यू बेच्यो भने दुईहजार कमाइ हुन्छ । एक किलो चीजबाट पन्द्रसय मात्र आउने भएपछि उद्योगले दूध पाएन’, छुलेनिले चौरी पालक समूहका सचिव लामाले भने, ‘घ्यूअनुसारको मूल्य पाउन प्रतिकिलो पच्चीससय रुपैयाँमा बेच्नुपर्छ । तर बाहिर तिब्बती बजारबाट पन्द्रसय रुपैंयामा चीज आउँछ । त्यसैले हाम्रो उद्योग डुब्यो ।’ पहिलो पटक उत्पादन गरेको चीजले बजार पाए पनि राम्रो मूल्य पाउन नसक्दा दोस्रो उत्पादन गर्न नसकिएको उनले बताए । कर्माकाअनुसार चौंरीको दूध प्रतिलिटर दुईसय रुपैंया पर्छ । एक केजी चीज उत्पादन गर्न १० केजी दूध खपत गर्नुपर्छ । अक्स्फामको आर्थिक सहयोगमा एकीकरण नेपाल नामको संस्थाले २०७३ फागुन महिनामा चीज उद्योग स्थापना गरेको थियो । तर गत कात्तिक महिनामा एक पटक मात्र चीज उत्पादन गरेर उद्योग बन्द भएको सचिव लामाले बताए । उनका अनुसार भवन निर्माणका लागि मात्रै चारलाख रुपैंया खर्च भएको थियो ।




