
प्रोक र सिर्दिबासमा स्याउ र ओखरको व्यवसायिक खेती गर्ने तयारी
चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास र वडा नं. ४ प्रोकमा स्याउ र ओखरको व्यवसायिक खेती गरिने भएको छ ।

गाउँपालिकाको कृषि शाखाको पहलमा त्यहाँको १४०० मिटरदेखि २८०० मिटरसम्मको उचाइमा स्याउ र ओखरको व्यवसायिक खेती गर्न लागिएको वडा अध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।
व्यवसायिक खेतीका लागि स्थानीय ३३ जना कृषक तथा सरोकारवालाहरुको समूहले जुम्लाको स्याउ तथा ओखर खेतीको अवलोकन भ्रमण गरेको छ । टोलीमा दुवै वडाका अध्यक्ष, कार्यबाहक प्रशासकीय अधिकृत, कृषि शाखाका कर्मचारी तथा अगुवा किसानहरुको सहभागिता रहेको छ ।

सो टोलीले जुम्लाका किसान र कृषि ज्ञानकेन्द्रसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । उनीहरुले तीनदिने तालिम समेत लिएका छन् । जुम्लाको स्याउ सुपरजोन कार्यक्रम, वाग्वानी अनुसन्धान केन्द्र, वनस्पति अनुसन्धान केन्द्र र कृषि अनुसन्धान केन्द्रसंग तालिम लिएको प्रोकका वडा अध्यक्ष लामाले जानकारी दिए ।

तालिमपछि गाउँपालिकाबाट निर्णय गरेर कार्यक्रम अघि बढाउने तयारी उनीहरुको छ ।
तस्वीरहरु : पेमाडुण्डुप लामा




