| आइतवार, कार्तिक २२, २०८३

आइएलओको सहकार्यमा श्रमबजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि गरिने

नेपाल उद्योग वाणिज्य महासंघ र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कार्यालयबीच श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिसम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने भएका छन्। महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार महासंघको रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रमअन्तर्गत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवादलगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रीत रहनेछन्। सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो । सो अवसरमा अध्यक्ष राणाले देशीय निर्देशक रिचार्डको स्वागत गर्दै नेपाली निजी क्षेत्र मुलुकभित्र औद्योगिक विकासमार्फत् रोजगारी सृजनामा केन्द्रीत भएको, रोजगारदाता एवं श्रमिक बीचको सम्बन्ध सुमधुर बन्दै गएकोले मुलुक अव विस्तारै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने आशा निजी क्षेत्रले गरेको बताइन्। महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष ढकालले आइएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै महासंघ आइएलओसँग निरन्तर सहकार्य गर्न तयार रहेको र आइएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरूको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजवुद बनाउन सहयोग पुग्ने विश्वास प्रकट गरे। देशीय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवं कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिबद्धता जनाए। नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आइएलओ निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए।

प्रतिक्रिया दिनुहोस्