
माटोको ढिस्कोले पुरिएर केरौंजाकी एक किशोरीको मृत्यू
दरौंदी ः गोरखाको दुर्गम केरौंजा गाउँमा माटो खन्ने क्रममा ओढारमा पुरिएर एक महिलाको ज्यान गएको छ । धार्चे गाउँपालिका २ केरौंजाकी करिब २५ बर्षकी भीममाया गुरुङको शुक्रबार दिउसो माटो खन्ने क्रममा ओढारभित्रै पुरिएर मृत्यू भएको वडा अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार उनी बिहान भूकम्पले भत्किएको घर पुनर्निर्माणका लागि ११ बजेतिर माल्कीडाँडामा माटो खन्न गएकी थिइन् ।
‘खच्चडवालालाई माटो ओसार्न आउनू है भनेर बिहान ११ बजेतिर माल्की डाँडामा गएकी रहिछन्’ परिबारिक स्रोतको हवला दिदै गुरुङले भने, ‘दिउसो १ बजेतिर खच्चडवाला माल्की डाँडामा पुग्दा माटो भरेर केही बोरा राखेको तर मान्छे नेदेखेपछि गाउँलेलाई बोलाएर खोजतलास गर्दा माटोले पुरिएर मरिसकेको अबस्थामा भेटिइन् ।’
यसअघिका सो गाउँमा घरहरु ढुङ्गाको मात्र पर्खाल लगाएर बनाउने चलन थियो । भूकम्प प्रतिरोधी घर बनाउन ढुंगा र माटोको प्रयोग गर्न प्राविधिकको सुझावपछि गाउँमा माटोको समेत प्रयोग गर्न थालिएको उनले बताए । ‘गाउँमा गारो लगाउने राम्रो माटो नभएकाले गाउँलेहरु सबैले गाउँबाट आधाघण्टाको बाटो टाढा माल्कीडाँडाबाट माटो झिकेर प्रयोग गर्दै आएका थिए’, गुरुङले भने, ‘सबैले माटो झिक्दाझिक्दा माल्की डाँडामा गहिरो ओढार बनिसकेको थियो । त्यही ओढारमै दुखद घटना भयो ।’
घटनाको बारेमा ढिलो मात्र प्रहरीलाई जानकारी प्राप्त भएकाले अहिले बिहान मात्र प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए ।




