
महिला हिंसा घरभित्रै बढि
अनुपमा खनाल :
गोरखामा महिलामाथि हुने घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांक अनुसार बर्षेनी घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको हो । कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक बर्षको हालसम्म घरेलु हिंसाका ६३ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा एकसय १९ उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष ०७४÷७५ मा सो संख्या बढेर दुई सय २७ पुगेको थियो ।दर्ता भएका अधिकांस उजुरी घरायसी झगडा तथा महिला हिंसासम्बन्धी रहेका महिला बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक सावित्री पाण्डेले बताईन् । ‘धेरैजसो उजुरी श्रीमानले जाडँरक्सी खाएर कुटपिट गरेको नै आउँछ’ उनले भनिन् ‘घर परिवारले बेवास्ता गरेको, श्रीमानले अर्को बिहे गरेको, खानलाउन नदिएको केसहरु पनि आउँछन् ।’
घरभित्र मात्रै नभई समाजबाट महिलामाथि हुने हिंसा पनि बर्षेनी बढ्दै गएको केन्द्रको तथ्यांक छ । चालु आर्थिक बर्षको हालसम्म २३ वटा सामाजिक हिंसाका उजुरी परेका छन् । आर्थिक बर्ष २०७३÷७४ मा २४ उजुरी परेकोमा गत आर्थिक बर्ष ५८ उजुरी परेको थियो ।हिंसा सहेर बस्नु हुँदैन भन्ने चेतनाको विकासको कारण उजुरी दर्ता बढ्दै गएको केन्द्रकी पाण्डेको अनुमान छ । ‘विगतमा पनि यस्ता घटनाहरु हुन्थ्ये’ उनले भनिन् ‘पहिले महिलाहरु सहेर नै बस्ने भएकाले घटना कम मात्रै सार्वजनिक हुन्थ्यो । तर अब कानुनी उपचार पनि खोज्न थालेका छन् भन्ने बुझ्न सकिन्छ ।’
केन्द्रमा उजुरी परेपछि पहिलो चरणमा पिडीत र पिडक दुबैपक्षबिच छलफल गरिने उनले बताईन् । ‘घटनाको प्रकृति अनुसार हामीले थप प्रक्रिया अघि बढाउँछौ’ उनले भनिन् ‘छलफलका क्रममा पिडकले गल्ती स्वीकार गरी गल्ति नदोहो¥याउने सर्तमा दुबै पक्षको चाहना अनुसार मेलमिलाप पनि हुने गरेको छ । बलात्कार, बहुविवाह लगायत मेलमिलाप हुन नसकेका उजुरी हामीले अदालतमा नै पठाउँछौं ।’ केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक बर्ष परेका ६३ उजुरीमध्ये २५ वटा मिलापत्र भएका छन् भने २० मुद्धा अदालतमा पुगेका छन् । अघिल्लो बर्ष २२७ उजुरीमध्ये एक सय २३ र आर्थिक बर्ष २०७३÷७४ का एक सय १९ उजुरीमध्ये ७८ मिलापत्र भएका थिए । आर्थिक बर्ष २०७३÷७४ यता हालसम्म केन्द्रमा परेका ८२ वटा उजुरी फस्र्यौट हुन बाँकी छ । कतिपय उजुरीहरु पिडक ब्यक्ति रोजगारीको सिलसिलामा देश बाहिर रहेकाले पनि फस्र्यौट हुन नसकेको सेवा केन्द्रकी पाण्डेले जानकारी दिईन् । जिल्लामा घरेलु हिंसा बढ्दै गएकाले यसको न्युनिकरणका लागि प्रहरीले सडकनाटक, सचेतनामुलक कार्यक्रम लगायतका गतिविधी पनि गर्दै आएको छ । यस्तै जिल्लामा सरकारी तथा गैह्र सरकारी सस्थांले पनि सचेतनामुलक कार्यक्रम गर्दै आएका छन् । महिलामाथि हुने हिंसा न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम सँगै कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने अधिबक्ता स्थानेश्वर दुवाडीले बताए । ‘महिला र पुरुष दुबैको चेतनास्तर बढाउने कार्यक्रम गर्नु जरुरी छ’ उनले भने ‘महिलालाई हिंसा गर्नुहुन्न भन्ने पुरुषले बुझ्नु जरुरी छ । हिंसापिडीत महिलाबाट जन्मने बच्चा समेत स्वस्थ्य हुन नसक्ने कुरा बुझाउनुपर्छ । सँगै अहिले जति कानुन छन्, ती सबै प्रभावकारी कार्यान्वयन हुन सक्यो भने महिलामाथि हुने हिंसाका घटना कम गर्न सकिन्छ ।’




