| शुक्रबार, अशोज १, २०८३

नाम्रुङका बाढी पीडित परिवारलाई घर छाउने जस्तापाता प्रदान

गतहप्ता बाढीले घर बगाएका गोरखा नाम्रुङका चार परिवारलाई घर छाउने जस्ता पाता तथा खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रङका चार परिवारलाई चुमनुब्री ७ छेकम्पारका धावा ग्याल्जेन लामा र वाङचुक राप्तेन लामाले राहत सामग्री प्रदान गरेका हुन् ।

शुक्रबार काठमाडौंबाट दुईवटा हेलिकोप्टरद्वारा ढुवानी गरी राहत सामग्री हस्तान्तरण गरिएको धावा ग्याल्जेन लामाले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापति समेत रहेका लामा र किमोलुङ फाउण्डेशन नेपालका संस्थापक वाङचुक राप्तेन लामाले राहत सामग्री प्रदान गरेका हुन् ।

पीडित परिबारलाई तत्काल बसोवासका लागि दुई बण्डलका दरले जस्तापाता, दाल, चामल, नून, तेल, ओढ्ने, ओछ्याउने, जाकेट लगायतका घरायसी अत्यावश्यकीय सामग्री पनि प्रदान गरिएको लामाको भनाइ छ ।

बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छ्योदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको थियो । साथै नाम्रुङबासीका लागि निर्माण गरिएको १०० किलोवाट र १५ किलोवाट क्षमताको थेराङखोला लघुजलविद्युत आयोजना, त्यस्तै मनास्लु पदमार्गअन्तर्गत सुक्समको बूढीगण्डकीमाथिको झोलुंगे पुल र थेराङखोलाको पुल पनि बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्