
मनास्लु आरोहणमा गएका विदेशी आरोहीको मृत्यु
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० बर्षका सिङ्गापुरका लाउ वी सेङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनास्लु हिमालको क्याम्प २ बाट बेसक्याम्प फर्कर्ने क्रममा हिँड्न गाह्रो भएर बसेको ठाउँमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । उनको शवलाई स्थानीय वासिन्दा तथा ट्रेकिङ एजेन्सिसँगको समन्वयमा उद्धारको पहल थालिएको उनले जानकारी दिए ।
उनी एट के एक्सपिडीसन कम्पनीबाट स्वीकृति लिएर हिमाल चढ्न गएका थिए । मृतक सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।




