
दरौँदी बगरको अवैध ढुङ्गा उत्खनन्मा रोक, कारबाही प्रक्रिया अघि बढ्यो
दरौँदी नदीको बगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापासहितको अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा खण्डको दरौँदी नदीमा अवैध तरिकाले भैरहेको ढुङ्गा उत्खनन् मंगलबारदेखि रोक लगाएको हो ।
सो खण्डको दरौँदी नदीबाट विगत एकहप्तादेखि दैनिक २५–३० ट्रयाक्टर ढुङ्गा उत्खनन् भैरहेको अबुवाका स्थानीयहरुको गुनासो थियो । सोही गुनासोको आधारमा मंगलबार गएको अनुगमन टोलीले उत्खनन्मा रोक लगाएको जिल्ला समन्वय समितिका प्रमुख थापाले बताए । ‘मेरो नेतृत्वमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) सहितको टोली बिहानै अनुगमनमा गएका थियौँ । जाँदा जाँदै बाटैमा बालुवा बोकेका ट्रयाक्टरहरु फेला परे’, उनले भने, ‘सोधी खोजी गर्दा उनीहरुले गोरखा नगरपालिकाले दिएको अनुमति देखाए । तर, फिल्डमा अनुमति बिपरीत काम भैरहेको देखियो ।’
अनुगमनका क्रममा गोरखा नगरपालिका वडा नं १३ का लागि भनेर निकालिएको ढुङ्गा र बालुवा नियमबिपरीत पालुङटार नगरपालिकामा पु¥याएको पाएको उनले जानकारी दिए । साथै, नगरपालिकाले उपभोक्ता समितिको कामका लागि भनेर अनुमति दिएको भएता पनि व्यक्तिले नै उपभोग गर्ने गरी नदीजन्य सामाग्री उत्खनन् भएको पाइएको उनको भनाइ छ ।
‘हामीले प्राविधिकसहितको टोली लगेर जाँच गर्दा गोरखा नगरपालिकाले तोकेको भन्दा धेरै सामाग्री झिकेको पाएका छौँ’, उनले भने । जिल्लाभर यसरी नदीजन्य सामाग्रीको अवैध उत्खनन् हुनुमा पालिकाहरुको कमजोरी देखिएको जिसस प्रमुख थापाले बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले तत्कालका लागि दरौँदीको नदीजन्य उत्खनन्मा रोक लगाइएको बताए । ‘यस्तो घटनामा आवश्यक अनुगमन गरेर कारबाही गर्ने अधिकार स्थानीय पालिकाहरुलाई नै दिएको छ’, उनले भने, ‘आजको अनुगमन समितिले गोरखा नगरपालिकालाई अवैध उत्खनन् गर्नेलाई आवश्यक कारबाही गरी त्यसको जानकारी अनुगमन समितिमा जाहेर गर्न भनेको छ ।’ नदीजन्य सामाग्रीको अवैध उत्खनन् गोरखा नगरपालिकाको मात्र नभएर सिङ्गो जिल्लाकै समस्या रहेको र यसलाई नियन्त्रण गर्न पालिकाहरु आफै लाग्नु पर्ने उनको भनाइ छ ।




