
मनासलु क्षेत्रमा घाइते पर्यटकको हेलीद्धारा उद्धार
मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका पर्यटकको शनिबार हेलीद्धारा उद्धार भएको छ । बिहीबार चुमनुब्री गाउँपालिका १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्धार गरिएको हो ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धारमा ढिलाई भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले बताए । घाइतेलाई शनिबार दिउँसो दुईबजे सिम्रिक एयरको हेलीमार्फत उद्धार गरी काठमाण्डौैँ पठाएको उनले जानकारी दिए ।
टाउकोमा गम्भीर चोट लागेका उनको बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरिरहेका थिए । बिहिबार बिहान नौ बजेतिर सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ बर्षका लम्साल गम्भीर घाइते भएका थिए । सो टोलीमा घाइते ४४ बर्षका मिनुइन्द्र लम्साल, विशाल लम्साल र दीपेन्द्र न्यौपाने रहेका छन् ।




