
न्याकफेदीमा पुरिएका पर्यटकको उद्धार हुन सकेन
मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयबासी उद्धार गर्न जान नसकेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार करिब तीनबजेतिर पहिरोले पुरेको उनलाई साँझसम्म पनि उद्धार गर्न नसकिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘उहाँलाई पुरेको पहिरोसम्म जाने बाटोमा फेरि अर्को ठूलो पहिरो झरेर बाटो अवरुद्ध भएको छ’, डिएसपी श्रेष्ठले भने, ‘पानी निरन्तर परिरहेको र पहिरो पनि झरिरहेकाले उद्धार गर्न सम्भव भएन ।’
चुमनुब्री १ सामागाउँबाट फर्केका उनी र उनका श्रीमानको टिममा उनी पुरिएपछि श्रीमान र गाइड रेशम भट्ट भागेर ज्यान जोगाएका थिए । ‘माथिबाट आएको ढुंगामाटोसहितको पहिरोले उहाँलाई पु¥यो । हामी भागेर बाँच्यौँ’, गाइड भट्टले भने, ‘अरु पर्यटकहरु पनि थिए । सबै भागाभाग भयो । उहाँलाई पुरेको ठाउँमा निकाल्न जान सकिएन ।’

क्याप्सन : पर्यटक पुरिएको चुमनुब्री ३ न्याकफेदीको पहिरोसंगैको अर्को पहिरो ।
तस्वीर : जिल्ला प्रहरी कार्यालय गोरखा ।




