
तीन इटालियन नागरिक गोरखाको हिमालमा अलपत्र
गोरखाको पाङ्वारी हिमाल आरोहणको क्रममा पुगेका तीन इटालियन र एक नेपाली नागरिक भारी हिमपातका कारण शिविरमै अलपत्र परेका छन् । ७००५ मिटर अग्लो सो हिमालबाट फर्कने क्रममा तीन विदेशी र एक नेपाली सहयोगी बुधबार बिहानदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका सो टोलीका भान्से राजु तामाङले जानकारी दिनुभयो ।
इटालीका नागरिक ६५ वर्षीय भेल्टर पेरलिनो, ६७ वर्षका स्तेफानो फरीनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटो सो हिमालमा फँसेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर फँसिरहेको तामाङको भनाइ छ । ‘हिमाल आरोहण गर्न नसकेर फर्कँदा एकजना विदेशी क्याम्प १ मा हुनुहुन्छ । दुईजना बेसक्याम्पमा अड्किरहनु भएकोछ’, राजु तामाङले भन्नुभयो, ‘हामी दुईजनाचाहिँ बिस्तारै बिस्तारै साम्दो आइपुग्यौँ ।’
उनीहरुमध्य एकजनाको खुट्टा मर्केको चुमनुब्री १ साम्दोका निमा दोर्जे लामाले जानकारी दिनुभयो । उद्धार गर्न साम्दोका दुईजना त्यसतर्फ गएका लामाले जानकारी दिनुभयो । ‘हामीले उहाँहरुलाई उद्धार गर्न घोँडा पठाएका थियौँ, तर त्यसमा फर्कन सक्नु भएन’, उहाँले भन्नुभयो, ‘हेलिकोप्टर मगाइएको तर मौसम प्रतिकूल भयो । थप हिमपात नभएकाले जोखिममुक्त हुनुहुन्छ ।’
उनीहरुको आरोहण व्यवस्थापन शेर्पा अल्पाइन ट्रेकिङ सर्भिस प्रालिले गरेको थियो ।




