
बलात्कार र कर्तव्य ज्यान मुद्दाका फरार १४ कैदीबन्दी पक्राउ
जेनजी आन्दोलनको क्रममा भागेका १४ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश कर्तव्य ज्यान र बलात्कार मुद्दाका छन् । ‘कर्तव्य ज्यान मुद्दाका मात्रै पाँच जना छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले भने, ‘फेरि ती सबै गोरखाकै रहेछन् ।’ पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ रिञ्जिन लामा, सोनाम ग्याल्जेन लामा, तेञ्जिन रिक्देल लामा र भीमसेन थापा गाउँपालिका १ का राजेश विश्व सुनार रहेको उनले जानकारी दिए । उनीहरु सबै कास्की कारागारबाट भागेका थिए ।
त्यस्तै पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका ६ जना रहेका छन् । पालुङ्टार नगरपालिका–१ का बमबहादुर श्रेष्ठ, भरत ठकुरी, वडा नम्वर ६ का सामुयल नेपाली, सिरानचोक गाउँपालिका–५ का बिक्रम नेपाली, धनकुटा छथरजोरपाटी गाउँपालिकाका सुमन सुनदास र लमजुङको राइनास नगरपालिका–६ का बाबुराम नेपाली पक्राउ परेको एसपी बिकले बताए । उनीहरुमध्ये चार जना कास्की कारागारबाट र बाँकी दुई जना काठमाडौंको जगनन्नाथदेवल कारागारबाट भागेका हुन् ।
मानव बेचविखन मुद्दामा सजायँ भोगिरहेका दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ की सुस्मा मग्राती र धादिङको धुनीवेशी नगरपालिकाका भुवन तामाङ रहेका छन् । जेनजी आन्दोलनको क्रममा मग्राती बाल सुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी थिइन् भने तामाङ केन्द्रीय कारागार काठमाडौबाट भागेका थिए ।
चोरी मुद्दामा कारागार कार्यालय तनहूँमा सजायँ भोग्दै आएका र आन्दोलनको क्रममा भागेका बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । उनी सिरानचोक गाउँपालिका–२ निवासी हुन् । बिभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई हाल गोरखा कारागारमा राखिएको एसपी बिकले जानकारी दिए ।




