| बिहिबार, असार १०, २०८३

भालुबाट बच्न र बचाउनै धौ

गत आइतबार राती चुमनुब्री ५ ड्याङ्की ७५ बर्षीया टासी ढिकी लामालाई घरमै भालुले आक्रमण गरी सख्त घाइते बनायो । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगियो । त्यसको केही दिनअघि चुमनुब्री ४ प्रोकका ७० बर्षीय दोर्जे ठकुरी पनि भालुको आक्रमणमा परे । बार्दलीमा सुतिरहेका उनलाई घरभित्रै प्रवेश गरी भालुले आक्रमण गरेको वडा अध्यक्ष पेमा ग्याल्बो लामा बताउँछन् । उनका अनुसार दुवै घाइतेहरु अहिले काठमाडौंको अस्पतालमा उपचाररत छन् ।

आफ्नो गोठमा बाँधिराखेको गोरु गएराती भालुले आक्रमण गरेर मारेको सोही वडा नाम्रुङका स्याउ किसान लाक्पा डुण्डुप लामाले जानकारी दिए । ‘तारबार गरेर राखेको गोठभित्र पसेर गोरु मारेछ । स्याउ पनि भुसुक्कै पारेर खाएछ’, उनले भने, ‘तारबार गरेर राख्दा पनि सुरक्षित राख्न सकिएन ।’ एउटै किसानको चार, पाँचवटासम्म याक, चौँरी भालुले मारेको उनले बताए ।
बर्सेनी सयौं घरपालुवा पशुचौपाया मारेर खाइदिने, खेतीबाली तहसनहस पार्ने र घरभित्रै पसेर मान्छेलाईसमेत आक्रमण गर्न थालेपछि गाउँले त्रसित भएका हुन् । ‘साउन यता १०, १२ वटा याक, चौँरी मारिसकेको छ’, वडा नं. ४ का अध्यक्ष पेमा ग्याल्बो भन्छन्, ‘खेती गर्न पनि पाइँदैन । गोठको बस्तुभाउ पनि सुरक्षित छैनन् । घरभित्रका मान्छे पनि सुरक्षित छैनन् ।’

वडा नं. १ र २ मा पनि साउन यता दुई÷दुईवटा पशुचौपाया मारेको भनेर राहत माग भई आएको वडाअध्यक्षहरुले बताएका छन् । ‘गाउँमा भालुको आतंक छ’, वडा नं. २ का अध्यक्ष मिङ्ग्युर दोर्जे लामा भन्छन्, ‘साउन यता ल्हीमा दुईवटा याक मारिसक्यो । गोठको याक, चौँरी, बारीको मकैबाली सबै खाइदिन्छ ।’ बर्षौँदेखिको यो समस्या समाधान गर्न नसकिएको उनको गुनासो छ ।
भालु, हिउँचितुवा र ब्वाँसोले पशुचौपाया र खेतीपाती सखाप पार्ने गरेको वडा नं. ५ का वडाअध्यक्ष काल्देन छेवाङ लामा बताउँछन् ।

‘घरपालुवा जनावर मा¥यो भने सरकारले राहत त दिने भन्छ, तर लेकतिर कताकता मार्छ । फोटो खिचेर, मुचुल्का बनाएर निवेदन पेश गर्नुपर्ने रहेछ’, उनी भन्छन्, ‘एक दिनभरि हिडेर पनि पुग्न नसकिने लेकमा गएर मुचुल्का बनाउन सजिलो छैन । त्यसैले कैयौँले निवेदन पेश पनि गर्दैनन् । निवेदन दिनेले आवश्यक कागजात पेश गरेर राहत लिन पनि सक्दैनन् ।’

गतबर्ष भालु, हिमचितुवा, ब्वाँसो लगायतका जंगली जनावरले ७६ वटा याक, चौँरी मारेको भनी राहत माग भएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवन ओझाले जानकारी दिए । सो क्षेत्रमा जंगली जनावरका कारण स्थानीयबासी आजित भएका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्