
गोरखाका परियारको बानेश्वरको सवारी दुर्घटनामा मृत्यु
नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा परी गोरखाका एक युवाको मृत्यु भएको छ ।
यातायात व्यवस्था विभाग मीनभवनस्थित सडकखण्डमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सो दुर्घटनामा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको मृत्यू भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बीएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गएराति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




