
जेनजीको विरोध प्रदर्शनमा गोरखाका तीन युवाको सहादत
जेनजीको आन्दोलनका क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा गोरखाका तीन युवाले सहादत पाएका छन् । मंगलबार साँझ अबेरसम्म प्राप्त संख्या अनुसार करिब दुई दर्जनको मृत्यू भएकामध्य तीनजना गोरखाका परेको हो ।
सोमबार पहिलो दिन भएको विरोध प्रर्दनमा बारपाक सुलीकोट गाउँपालिका ५ नारेश्वरडाँडाका र गण्डकी गाउँपालिका ४ ढाबेका दुई युवाले सहादत प्राप्त गरेका त्यस्तै मंगलबारको विरोध प्रदर्शनमा पालुङटार ३ का युवाको मृतकका आफन्तहरुले जानकारी दिएका छन् ।
बारपाक सुलिकोट ५ नारेश्वरडाँडा निवासी २२ बर्षका बिमल भट्टले संसद भवन अघि गोली लागेर सहादत पाएका उनका आफन्त सुजन भट्टले बताए । सोमबार ३ः३० बजे संसद भवन अघि प्रदर्शनको क्रममा निधार गोली लागेर भट्टको घटनास्थलमै मृत्यू भएको भट्टले जानकारी दिए ।
उनको शव सिभिल अस्पतालमा राखेर राती ३ बजेमात्र त्रिवि शिक्षण अस्पता लगिएको र अहिले सोही अस्पतालमा शव रहेको भट्टले जानकारी दिए ।
उनी जलकन्यादेवी माविमा माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौँमा रहँदै आएका थिए ।
त्यस्तै गण्डकी ४ ढाबेका २३ बर्षका अर्जुन भट्टको पनि सोमबार दुईबजेतिर गोली लागेर मृत्यू भएको हो । थापाथलीमा भएको विरोध प्रदर्शनका क्रममा टाउकामा गोली लागेर उनको मृत्यू भएको मृतकका आफन्त तथा वडाअध्यक्ष राजु भण्डारीले जानकारी दिए ।
उनको शव बल्खुस्थित अस्पतालमा राखिएको छ ।
उनी दुईबर्ष दुबईमा काम गरेर एक महिनाअघि मात्र नेपाल फर्केका थिए । जापानी भाषा पढ्दै गरेका उनको विरोध प्रदर्शनका क्रममा मृत्यू भएको भण्डारीले जानकारी दिए ।
मंगलबार दिउसो २ः३० बजेतिर महाराजगञ्ज प्रहरी चौकीमा प्रदर्शनका क्रममा पालुङ्टार ३ बर्देडाँडाका रमेश पराजुलीको मृत्यू भएको छ । काठमाडौको तारकेश्वर १ साङ्लाफाँटमा व्यवसाय गर्दै आएका उनको छातीमा प्रहरीको गोली लागेर मृत्यू भएको पत्रकार विनोद श्रेष्ठ क्रान्तिले जानकारी दिएका छन् ।




