| सोमवार, कार्तिक २३, २०८३

करोडौँ नगद र सुनसहित पक्राउ परेका श्रेष्ठ मिटरव्याजी भएको दाबी

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड नगद र तीन किलो सुनसहित पक्राउ परेका गोरखाका विनोद श्रेष्ठ मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय श्रेष्ठलाई पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका गोरखा नगरपालिका ६ का विनोद श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले दावी गरेको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’

गोरखाका विनोद श्रेष्ठको घरबाट चार करोड नगद र तीन किलोग्राम सुन बरामद भएको छ । काठमाडौं महानगरपालिका–२६ गोंगबुको टाउन प्लानिङस्थित श्रेष्ठको घरबाट करोडौँ रकम र ३ किलोभन्दा बढी सुन बरामद भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए । उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ । साथै उनको घरमा करिब ३ किलो जति सुनका गहना पनि भेटिएको थियो ।

गोरखा नगरपालिका १ घर भई हाल काठमाडौं २६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरबाट उक्त रकम बरामद गरिएको हो । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका अरु गहना समेत बरामद गरिएको छ । उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्