
अन्तरजातीय बिहे गरी श्रीमती अलपत्र पार्ने मिलन श्रेष्ठ पक्राउ
फरक जातकी श्रीमती बिहे गरी अलपत्र पारेर फरार रहेका मिलन श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले श्रेष्ठलाई धादिङको गजुरी गाउँपालिका वडा नं ६ राम्चेबाट श्रेष्ठलाई पक्राउ गरी सोमबार गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध जातीय छुवाछुत शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले बताए ।
श्रेष्ठविरुद्ध उनकी श्रीमती सहिद लखन गाउँपालिका १ बक्राङकी मनिका परियारले जाहेरी दर्ता गरेकी थिइन् । धादिङको गजुरी गाउँपालिका–२ मलेखु छेपाङका २२ वर्षीय श्रेष्ठले आफूलाई विधिवत बिहे गरी भित्र्याएर गर्भवती भएको थाहा पाएपछि फरार भएको मनिकाले जाहेरीमा उल्लेख गरेकी छिन् ।
गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङकी २१ वर्षकी मनिका परियारसँग २०८० मंसिरमा बिवाह गरेका थिए । गत जेठ १० गते मनिकाले छोरा जन्माएकी छिन् । जातीय विभेद गरी मिलन श्रेष्ठले छोराको न्वारन तथा जन्मदर्तासमेत गरेका छैनन् भने भरणपोषण पनि गरेका छैनन् ।
श्रीमान फरार भएको र माइतीको आर्थिक अबस्था कमजोर हुँदा सुत्केरी अबस्थाकी मनिका र उनको बच्चाले पोसिलो खानेकुरा पाएका छैनन् । बस्ने ठाउँको अभाव तथा अन्य समस्याले ग्रस्त छिन् ।
श्रीमान मिलन श्रेष्ठको परिवारले आफू दलित भएकै कारण घरबाट निकालेको र बच्चालाई समेत अस्वीकार गरेको उनको गुनासो छ । आफ्नो बच्चालाई कानुनले दिने हक अधिकार दिलाउनुपर्ने माग मनिकाको छ ।




