
गोरखामा विहान नौ बजेदेखि विद्युत सेवा अवरुद्ध
अविरल बर्षाका कारण विद्युत पोल ढल्दा गोरखामा सोमबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
तनहूँको आँबुखैरेनीबाट गोरखा बजारस्थित सबस्टेशनमा प्रशारण गरिएको ३३ केभी लाइनको पोल ढल्दा गोरखा बजार लगायत विभिन्न पालिकाहरुमा विद्युत सेवा अवरुद्ध भएको हो । सोमबार बिहान सवा नौ बजे गोरखा कारागार आसपासका दुई ठाउँमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको प्राधिकरण, गोरखा वितरण केन्द्रका प्रमुख चिज गुरुङले जानकारी दिए ।
‘मुख्य एउटा पोल ढलेको थियो, त्यसको असरले अरु दुई ठाउँका पोल पनि क्षति भएका छन्’, गुरुङले भने, ‘बिहान सवा नौ बजेदेखि गोरखा नगरपालिकाको वडा नं. १ देखि १२ नंबर वडासम्मका बस्तीहरु, भीमसेनथापा गाउँपालिकाका वडा नं. ३ र ४ बाहेक सबै बस्तीहरु, सहिद लखन गाउँपालिकाका वडा नं. ७, ८ र ९, सिरानचोक गाउँपालिकाका वडा नं. ४, ५ र ६ र बारपाक सुलिकोट गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ का विभिन्न गाउँबस्तीमा विद्युत सेवा अवरुद्ध भएका छन् ।’
पोल मर्मत कार्य सुरु भइसकेको उनले बताए । तर प्रतिकूल मौसम र भर्खरै रोपिएको खेतमा पोल ढलेकाले मर्मत कार्यमा बाधा व्यवधान आइरहेको उनले बताए । ‘यथासक्य छिटो मर्मत गरेर सेवा सुचारु गर्नेछौँ’, उनले भने ।
क्याप्सन : गोरखा कारागार आसपास ढलेको विद्युत पोल ।
तस्वीर : ध्रुव घिमिरे




