
चुम्चेतका घाइतेको दुई दिनपछि उद्धार
भीरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका ६ चुम्चेतका ४५ बर्षीय ङुइटुप लामाको दुई दिनपछि उद्धार भएको छ । गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउसो लामालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौ लगिएको हो ।
अल्टिच्यूडको हेलिकोप्टरबाट उद्धार गरिएको उनको काठमाडौं ट्रमा सेण्टरमा उपचार भइरहेको छ । दुईदिनअघि देब्रे खुट्टा भाँचिएर घाइते भएका उनी समयमै उपचार नपाउँदा घरमै छटपटाएर बस्न बाध्य थिए । गत सोमबार छेकम्पार जाने क्रममा रेन्जोममा भीरबाट खसेको ढुंगाले लागेर उनको देब्रे खुट्टा भाँचिएको थियो ।
स्थानीय गोपाल लामाका अनुसार नजिक अस्पताल नहुँदा र यातायातको सेवा नहुँदा उनी गाउँको हेल्थपोस्टमा सामान्य पट्टी बाधेर थप उपचार नपाएर छटपटाइरहेका थिए । ‘रेन्जोम भन्ने ठाउँमा अस्ति बेलुका भीरबाट झरेको ढुंगाले लागेर खुट्टा भाँचिएको रहेछ’, घाइतेका आफन्त समेत रहेका लामाले भने, ‘देब्रे खुट्टा कच्याकुचुक भएको छ । हिँजो दिनभर गाउँलेहरुले पाँचघण्टा बोकेर घरमा ल्यायो । गाउँकै हेल्थपोस्टमा पट्टी बाँधेर राखियो । तत्काल काठमाडौ लैजान सकिएन ।’
दुर्गम भएकाले गाउँमा चाहिएको बेला फोन पनि नचल्ने उनको गुनासो छ । ‘यस्तो दुखको बेला गाउँमा फोन पनि चल्दैन, नेट पनि राम्रो छैन’, उनले भने, ‘काठमाडौंतिर आफन्तहरुलाई, सांसदहरुलाई यसो हारगुहार गरौँ भने पनि गाह्रो छ हामीलाई ।’
चुमनुब्री गाउँपालिका ३ सम्म मात्र मोटरबाटो पुगेको छ । तर, बर्खाका बेला त्यहाँसम्म गाडी चल्दैन ।
उत्तरी गोरखा जाने सडकको सोतीसम्म मात्र सवारी साधन चल्छ । ‘गाउँबाट घाइते, बिरामी बोकेर सोतीसम्म पुग्न तीन दिन लाग्छ’, गोपाल गुरुङ बताउँछन्, ‘बर्खाको बेला छ घाइतेलाई डोकोमा बोकेर सोती पु¥याउन सकिँदैन । दुर्गमका बासिन्दालाई दुख छ ।’ जो कोही घाइते, बिरामी घरमै छटपटाएर बस्नुको बिकल्प नभएको उनको भनाइ छ ।




