
एक बर्षमा विपदका कारण १० जनाले ज्यान गुमाए
एक बर्षको अवधिमा जिल्लामा भएको विपदका घटनामा परि दश जनाको ज्यान गएको छ । यो जिल्ला प्रहरी कार्यालय गोरखाको आर्थिक गत साउन महिनादेखि यही असार २२ गते सम्मको तथ्याङ्क हो ।
कार्यालयको तथ्याङ्क अनुसार बाढी पहिरोमा परि ६ जनाले ज्यान गुमाए । जिल्लाको तीन स्थानमा बाढी तथा पहिरो गएको थियो । जसमा दुई जना घाइते भएका थिए । करेन्ट लागेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप एक जना घाइते भए ।
त्यस्तै चट्याङमा परि एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । यो अवधिमा जिल्लाका ११ स्थानमा आगलागी भएको थियो । जसमा एक जना घाइते समेत भएका थिए । विभिन्न घटनामा ६ जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
त्रिशुली नदीको बाढी आएकाले सतर्क रहन गण्डकी गाउँपालिकाले आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै पालिका अन्तरगत त्रिशुली नदीको तटीय क्षेत्रमा जुनसुकै बेला पानीको वहाव बढ्न सक्ने हुँदा नदी किनारमा कुनै पनि क्रियाकलाप नगर्न पालिकाले आग्रह गरेको छ । बिशेष सतर्कता अपनाउन समेत पालिकाले अनुरोध गरेको छ ।




