
बालिकाहरु बलात्कारको शिकार बन्दै
जिल्लामा बालिकाहरु बलात्कारको शिकार बन्ने गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाको प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा तीन जना बालिका बलात्कृत भएका छन् ।
त्यस्तै दुई वटा बालयौन दुव्र्यवहारका घटना भएका छन् भने १९ बर्षीया किशोरी र ३३ बर्षीया महिला बलात्कृत भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका अनुसार यो चालु आर्थिक बर्षको पुषदेखि हालसम्मको तथ्याङ्क हो ।
आइतवार जिल्ला सदरमुकाममा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ का लागि संकलित घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रममा इन्सेक प्रतिनिधी हरिराम उप्रेतीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
मानव अधिकार सञ्जालका जिल्ला संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका मानव अधिकारकर्मी, संचारकर्मी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।




