
अमेरिकामा मृत भेटिएकाहरुको अन्त्येष्टि गर्न नपाएको परिबारको गुनासो
प्रतिक्षा आले ।
अमेरिकामा गोली लागी मृत्यू भएका गोरखाका एकै घरका चारजनाको अन्त्येष्टि गर्न जान नपाएको परिबारजनको गुनासो छ । गत जेठको अन्तिम साता भर्जिनियामा मृत अवस्थामा भेटिएका पालुङ्टार ८ रातामाटेका ३८ बर्षका सन्तोष परियार, उनकी ३६ वर्षकी श्रीमती अन्जु श्रेष्ठ, आठ वर्षकी छोरी साइना र दुईबर्षका बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिबारजनको गुनासो छ ।
अन्त्येष्टिका लागि उनीहरुका बुबा निरबहादुर खाती दम्पतिले भरमग्दुर प्रयास गरेपनि जान नपाएका वडाअध्यक्ष होपबहादुर नेपालीले बताए । दुईसातादेखि गरेको प्रयत्न अमेरिकी दूतावासले अस्वीकृत गर्दा मृतकका बुबाआमा निराश भएका उनको भनाइ छ । ‘मृतक सन्तोष परियारको कान्छा भाइ सुवास परियार अमेरिकी सेनामा छ । यताबाट बुबाआमा अन्तेष्टिको लागि जान खोजेका थिए तर दूताबामा कागजात मिलेको छैन’, उनले भने, ‘अब सेनामा रहेको भाइले नै काजक्रिया गर्नुपर्ने भयो ।’
बुबाआमा काजकिरियामा जानका लागि लामो समयदेखि काठमाडौँमा गएर प्रयास गरिरहेका उनले बताए । मृतक सन्तोष परियारको परिवार गत सोमबार (असार २ गते) आफ्नो कान्छा काकाको छोरीको बिहेका लागि घर फर्कने तयारी रहेको उनकी भाउजु अस्मि परियारले बताइन् । ‘बहिनीको बिहेका लागि सपरिवार आउने तयारी थियो तर पापी दैवले लग्यो । अझैँ दुर्भाग्य त के छ भने काजकिरिया पनि गर्न पाएका छैनौँ’, उनले भनिन् ।
सन्तोष नेपालस्थित अमेरिकी दुतावासमा कार्यरत थिए । करिब १२ वर्ष दुतावासमा जागिर खाएपछि आठवर्ष अघि उनी जहान परिबारसहित अमेरिका गएका थिए । तीन महिने छोरी साइनालाई लिएर सन्तोष र अन्जु अमेरिका पसेको मृतकको भाउजु अस्मि परियारले जानकारी दिइन् ।
अस्मि भन्छिन्, ‘आमाबुवा काजक्रिया गर्न अमेरिका जान तयार हुनुहुन्थ्यो तर भिसा पाउनु भएन । बुहारी (अन्जु)को दाजुभाउजु जानु भएको छ’, उनले भनिन्, ‘शवहरु यता ल्याउन त त्यस्तै होला, कान्छा भाई उतै छ उसैले सबै काजक्रिया गर्ला अब ।’ घटनाको सत्यतथ्य पत्ता लगाएर छिटोभन्दा छिटो दोषीलाई कारबाही गर्नुपर्ने मृतक परिवारको माग छ ।
गत जेठ २२ गते उनीहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ व्लकमा रहेको अपार्टमेन्टमा गोली लागी हत्या भएको अवस्थामा फेला परेको पालुङटार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष होपबहादुर नेपालीले बताए । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको नेपालीको भनाइ छ ।




