| मङ्लबार, कार्तिक २४, २०८३

जिसस सदस्य देवकोटाद्वारा महिलामाथि निर्घात कुटपिट

प्रतिक्षा आले ।
जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटाले ज्याला मजदुरी गरिखाने एक महिलामाथि निर्घात कुटपिट गरेकी छन् । अजिरकोट गाउँपालिका ५ मुच्चोक निवासी देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटा मिलेर सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेका हुन् ।

उनी भच्चेक स्वास्थ्यचौकीमा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबार प्रदेश अस्पताल गोरखामा आइपुगेकी छिन् ।
काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीबाट कुटाइ खानु परेको पीडित महिलाको दुखेसो छ । ‘नाताले जेठाजु जेठानी पर्ने हो । केहीदिनअघि घरपछाडिको करेसा सफा गर्न लगाएका थिए । अस्ति (आइतबार) त्यसैको जेला माग्न जाँदा कपालमा समातेर लछारपछार पारे । कुटपिट पनि गरे’, अस्पतालमा उपचाररत कल्पना धिताले भनिन् । देवकोटा दम्पतीले यसअघि पनि पटक पटक आफूमाथि यस्तो दुव्र्यवहार गर्ने गरेको उनी बताउँछिन् ।

इन्दिरा देवकोटा नेकपा माओवादीको तर्फबाट अजिरकोट गाउँपालिका वडा नं ५ को वडासदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएकी हुन् । उनका श्रीमान रामचन्द्र देवकोटा अजिरकोट २ स्थित एक विद्यालयबाट निवृत्त भएका शिक्षक हुन् । देवकोटाले जनप्रतिनिधि भएकै हैसियतले आफूहरुलाई धम्काउने र तर्साउने गरेको पीडित कल्पनाकी १३ वर्षकी छोरी आयुषा धितालले बताइन् । आमासँग प्रदेश अस्पताल गोरखामा आएकी आयुषा अजिरकोट–५ मुच्चोक स्थित चर्तुमाला माविको कक्षा आठमा अध्ययनरत छिन् । इन्दिरा देवकोटाले पाँच सय रुपैँयाका लागि आफ्नो आमालाई पिट्ने, जबरजस्ती कपालमा समाएर लछार पछार पार्ने र पानीमा मुख डुबाउने जस्तो क्रियाकलापहरु गरेको आयुषा बताउँछिन् ।
‘उनीहरुको र हाम्रो घर नजिकै छ । आइतबार बिहान आमा काम गरेको पैसा माग्न जानुभएको थियो । त्यहिबेला उनीहरुले पैसा दिनुको साँटो नराम्रो व्यवहार गरेर कुटपिट गरे’, १३ बर्षकी उनले भनिन्, ‘आमा रोएको, कराएको सुनेर म पनि पुगेँ । इन्दिरा देवकोटाको बुढाबुढीले आमालाई लछारपछार पारेको, पानीमा मुख डुबाएको भिडियो पनि खिचेको छु । अहिले त्यो भिडियो डिलिट गर् भनेर धम्काएका छन् । तर, भिडियोहरु सुरक्षित छन् ।’ उनले लिएको भिडियोमा इन्दिरा देवकोटा र उनको श्रीमान रामचन्द्र देवकोटाले कल्पना धितालको कपालमा समाएर लछार पछार पर्दै पानीमा मुख डुबाएको देखिन्छ । स्थानीय युवाहरुले सो भिडियो सामाजिक सञ्जालमा पोस्ट र सेयर गरेर भाइरल बनाएका छन् ।

आयुषा घरको तनाव र देवकोटा दम्पतीको धाकधम्कीका कारण हाल पढाइ छोडेको बताउँछिन् । ‘आमालाई यसअघि पनि यसरी पिट्ने, ठुलबाबा (रामचन्द्र देवकोटा) रक्सी खाएर हातपात गर्न खोज्नुहुन्थ्यो । यो पटक भने सारै गर्नुभयो’, उनले भने, ‘यही तनावहरुले गर्दा पढ्न पनि गाको छैन । अब घरको अवस्था शान्त भएपछि मात्र पढ्ने होला ।’

पीडित कल्पना धितालको श्रीमान तुलसीप्रसाद धिताल अजिरकोट–५ मुच्चोककै जनप्रभात प्राविमा कार्यालय सहयोगी छन् । धिताल दम्पतीको दुई छोरीहरु मध्य आयुषा जेठी हो । कान्छी छोरी आठ वर्षकी लक्ष्मी धिताल पढ्दै छिन् ।
तुलसीप्रसाद दुई छोरीहरु र श्रीमतीलाई वास्ता गर्दैनन् । आमामाथि हरेक पटक कुटपिट र दुव्र्यवहार हुँदा बुबा मुकदर्शक बनेर बसेको आयुषाको दुखेसो छ । ‘बुबाले हामीलाई हेला गर्ने भएर नै बाहिरका मान्छेले पनि बारम्बार आक्रमण्ण गरेका हुन् । अस्ति त्यत्रो घटना भयो । आमालाई भच्चेक अस्पताल लग्यौँ । त्यहाँ नसकेर गोरखा अस्पताल ल्यायौँ तर बुबालाई केही वास्ता छैन’, उनले भनिन् ।
यस बिषयमा जानकारी लिन जिसस सदस्य देवकोटालाई टेलिफोनमा सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन आलटाल गरिन् । –––प्रतिक्षा आले÷रासस

प्रतिक्रिया दिनुहोस्