| मङ्लबार, कार्तिक २४, २०८३

शुक्रबारबाट यातायात हड्ताल

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले शुक्रबारबाट यातायात हड्ताल आव्हान गरेको छ । गण्डकी प्रदेश सरकारले रातो नंबर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको हुँदा सोको बिरोधमा समितिले गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गर्न आव्हान गरेको हो ।

आउँदो सोमबारसम्म गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प पार्ने र त्यति गर्दा पनि निर्णय सच्याएन भने देशभर सार्वजनिक यातायात ठप्प पार्ने निर्णय गरेको बिहिबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक यातायात बचाउ समिति गण्डकी प्रदेशको आव्हान र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संगठनको सहकार्यमा सार्वजनिक यातायात बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गोरखा मनकामना यातायात सेवा प्रालिका महासचिव देवेन्द्रजंग कुँबरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो आन्दोलनमा ऐक्यवद्धता गरिएको उल्लेख गर्दै आफ्ना सार्वजनिक सवारी साधन ग्यारेज तथा घरमा थन्क्याई आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्