
खैरेनीमा पेस्तोल र गोली सहित दुईजना पक्राउ
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पेस्तोल र गोली सहित दुईजना पक्राउ परेका छन् । नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षका मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगरका ३२ वर्षीय विजय तिवारी पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुलाई आँबुखैरेनीको बेनिटारबाट ‘मेड इन यु.एस.ए’ लेखिएको एक थान पेस्तोल र एक थान गोली सहित बिहीबार दिउँसो पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरनीतर्फ आउँदै गरेको ना.२८.प.१५१९ नंबरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त सामाग्री फेला गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




