
भूकम्पपछि मुहार फेरेको बारपाक, धेरै आयोजना सुरु भए सम्पन्न भएनन्
टण्टलापुर घाममा बारपाक सप्तरंगी बनेर टल्किरहेको छ । भिन्नभिन्न आर्किटेकका हजार महल, सुग्घर गल्ली र गोरेटा, सिरसिर हिमाली हावामा सुरम्य देखिन्छ बारपाक । भूपू लाहुरे छनक आउने ज्येष्ठ नागरिकहरु मानेडाँडा, कोटडाँडा, बसपार्कका खुल्ला ठाउँमा रसिला गफमा गफिरहेका देखिन्छन् ।
नयाँ बारपाकको सौन्दर्य देख्दा १० बर्षअघि भूकम्पले तहसनहस बनाएको ठाउँ यही हो र ? भनेर सोच्न पनि मुस्किल पर्छ । यहाँका बासिन्दाको दिनचर्या र कुराकानी सुन्दा १० बर्षअघि गएको भूकम्पको कुनै शोक सन्ताप अनुभूति हुदैन ।
भूकम्पपछिको भौतिक विकासले अहिले बारपाकबासी खुशी देखिन्छन् । अहिले यहाँ धेरै ठूला र रंगीबिरङ्गीका पक्की घरहरु निर्माण भएका छन् । पहिले कालो ढुंगाले वा काठको फलेकले छाएको, ढुंगाको मात्र सुख्खा गारो लगाइएका एकतले घरहरु थिए । घले र गुरुङहरुको बाहुल्यता रहेको र केही घर बिकहरु बसोबास गर्ने बारपाकमा अहिले मौलिक घर एउटै देख्न पाइँदैन ।
ठूलो र पक्की घर बन्नुलाई कसैले सकारात्मक र कसैले नकारात्मक रुपमा बुझ्ने गरेका छन् । ‘पहिलेका घर मौलिक प्रकारका थिए भन्ने मात्रै हो, कच्ची भएकाले नै सबै घर भत्किएर मान्छे धेरै मर्नुप¥यो । अहिले सबै पक्की घरले गाउँ भरिएको छ’, स्थानीय सूर्य घले भन्छन्, ‘अरुले देख्दा मौलिक खालको छ भन्दैमा कच्ची घरमा बस्न, मर्न को चाहन्छ र ?’
तर नयाँ ढंग, ढाचाका ठूला घरहरु देखेर असन्तुष्ट हुनेहरु पनि यहाँ कम छैनन् । ‘अहिलेको घरले त धनी र गरिब ठ्याक्कै छुट्याउँछ । पहिले भात खानेको पनि ढिँडो खानेको पनि बाहिरबाट हेर्दा घर उस्तै थियो’, स्थानीय धनरानी घले भन्छिन्, ‘अहिले त तपाईहरुले पनि बाटो हिड्नेले पनि चिन्छ, यो त धनी रहेछ, यो त गरिब रहेछ भनेर । यो राम्रो लागेन ।’
भूकम्पपछि गाउँमा अरु पूर्वाधार पनि विकास भएको छ । ‘रोड पिच हुँदैछ, भूकम्प स्मारक बन्दैछ, भूकम्प स्मृतिपार्क बन्दैछ । वुद्धपार्क बनिसक्यो, गुम्बा बन्दैछ, संग्रहालय बन्दैछ’, अर्का स्थानीय सूर्य घले भन्छन्, ‘मानेडाँडा, कोटडाँडामा पार्क, भ्यूटावर बनिरहेको छ । खानेपानी योजना, ढल निकास बन्दैछ । भूकम्पपछि पनि बारपाक रमाइलै छ ।’ ‘बारपाकका कतिपय सार्वजनिक सम्पत्तिहरु व्यक्तिगत लगानीमा बनेका छन् । युके, हङकङ, सिंगापुर बस्नेहरु गाउँमा धेरै छन् । उनीहरुले गाउँका धारा पँधेरा, चोक गल्लीसम्म पुगेका पदमार्ग स्तरोन्नतिको काममा सहयोग गर्छन् ।’ यहाँका बासिन्दा उत्साहित रहेको उनको भनाइ छ ।
भूकम्प अघि जंगलबाट दिनभरिमा एक भारी दाउरा खोजेर ल्याउन पाउनेमा अहिले ट्याक्टरमा राखेर भारीका भारी दाउरा ल्याउन पाएको भन्दै स्थानीयबासी खुशी व्यक्त गर्छन् ।
धेरै आयोजना सुरु भए, सम्पन्न भएनन् :
भूकम्पले चह¥याएको घाउ शान्त पार्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले ‘बारपाकबासीले अबको दुईबर्षभित्र कालोपत्रे सडकमा सरर यात्रा गर्न पाउनेछन्’ भन्ने आश्वासन दिएर फर्के । नभन्दै २०७३ सालमा एघारकिलो बारपाक सडक कालोपत्रे गर्न ठेक्का खुल्यो । चारवटा प्याकेज बनाएर काम सुरु पनि भयो । तर १० बर्ष बित्यो, अहिलेसम्म काम सम्पन्न भएको छैन ।
‘० देखि ५ किलोमिटरसम्मको चेनेजको काम सम्पन्न भयो । ५ देखि १७ किलोमिटर चेनेजमा मध्यपहाडी आयोजना लागु भयो । १७ देखि २२ किलोमिटरको’, गोरखा सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्का भन्छन्, ‘२२ देखि ३० किलोमिटरको खण्डमा अझै काम सम्पन्न भएको छैन । लोहनी ब्रदर्शले लिएको ठेक्का हो । अहिलेसम्म जम्मा ८० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २० प्रतिशत काम भएकै छैन । ठेकेदार पनि सम्पर्कमा छैनन् । ठेक्का तोडेर अर्को ठेक्का गर्न हामीलाई अधिकार छैन ।’ उही ठेकेदारलाई फकाइफुल्याई गरेर काम गराउन माथिल्लो निकायले आग्रह गर्ने गरेको उनको भनाइ छ ।

सडकमात्र होइन, भूकम्पकालदेखि सुरु भएर अहिलेसम्म अलपत्र परेका अरु धेरै आयोजनाहरु सम्पन्न हुन बाँकी नै छन् । ‘भूकम्प स्मारक बनाउन भनेर २०७४ मंसीर १४ मा स्वच्छन्द, होम जेभी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो । आज आठबर्ष बित्यो, काम सम्पन्न भएको छैन’, स्थानीय अगुवा जीतबहादुर घले भन्छन्, ‘स्मारक नजिकै खुम्चेगुम्बा बनाउन भनेर काम सुरु गरेको पनि सात बर्ष भइसक्यो । अहिलेसम्म सम्पन्न भएको छैन ।’ स्मारक निर्माण गर्न १३ करोड ६ लाख ३४ हजारमा ठेक्का सम्झौता गरेपनि लागत बढेर १५ करोड ५१ लाख भइसकेको छ । तर काम भने अझै सम्पन्न भएको छैन ।
निजी आवास भने पुनर्निर्माण गरेर सम्पन्न भएको घलेको भनाइ छ । ‘भूकम्पपछि निजी आवास पुनर्निर्माण गर्न सरकारले १७ वटा मोडल देखायो । कुनै पनि मोडल ठिक थिएन । त्यसमध्य एउटा मोडल त रोज्नै प¥यो’, घलेले भने, ‘अहिले तपाई बारपाक गाउँमा त्यस्तो कुनै घर देख्न सक्नुुहुन्न । अनुदानबाट बनाएको घर त ऊ पर जंगलको छेउछाउ बाँदर धपाउन, बारीको पाटातिर भेँडागोठाला बस्न, धन्सार बनाउन प्रयोग गर्छन् । बिनाकोठा, बिना ट्वाइलेटको घरमा सरकारी अनुदान त्यस्तै खेर गयो ।’भूकम्पको केन्द्रविन्दू बारपाक र बारपाकीको पीडाले भरिएको मन शान्त पार्न अरु धेरै पूर्वाधार विकासको काम सुरु भयो, तर सबै अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेका स्थानीयको भनाइ छ । ‘भूकम्प स्मृति संग्रहालय, कोटडाँडामा निर्माणाधीन भ्यूटावर, पार्कको काम पनि सम्पन्न भएको छैन । ढल निर्माणको काम पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । वृहत खानेपानीको काम पनि सुरु भएको छ ।’ केहीको भने निर्माण गरिसक्ने समयसीमा बाँकी नै रहेको छ । यी सबै पूर्वाधार बनिसकेपछि भने बारपाक साँच्चै हेर्नलायक हुने उनको भनाइ छ ।
रोजगारी सिर्जना हुने कार्यक्रमको माग :

रपाकमा पर्यटन विकास गर्न गठित सेभेन सिस्टर्समध्यकी एक दलकुमारी घले भने भौतिक पूर्वाधार निर्माणमात्रैलाई विकास मान्न नहुने बताउँछिन् । स्थानीयबासीको आयआर्जन बढाई आत्मनिर्भरतामा उनको जोड छ । ‘बारपाक पर्यटनका हिसाबले ब्राण्ड बनिसकेको ठाउँ हो । त्यसैले बारपाक ब्राण्डको उत्पादनमा जोड दिनुपर्ने थियो, त्यो सफल भएको छैन’, उनी भन्छिन्, ‘भूकम्पपछि एनजीओ, आइएनजीओहरु धेरै आए । त्यो राम्रो कुरा हो तर, तिनले आत्मनिर्भर हुने तरिका सिकाएर जानु पर्नेमा अल्पकालीन राहतका कामहरु गरेर गएका उनको गुनासो । ‘पहिले बस्तु विनिमय प्रधान रहेको यहाँ अहिले पैसाप्रधान बनेको छ’, उनले भनिन्, ‘विदेशमा बस्ने बारपाकीको संख्या धेरै छ । उनीहरुले आफ्नो कमाइले बारपाकमा रोजगारी सिर्जना हुने खालका काम गरे धेरै राम्रो हुन्थ्यो । कम्तिमा पनि बर्षमा एकफेर छोराछोरी, परिबार लिएर पुख्र्यौली थलो भ्रमण गरे हुन्थ्यो ।’