| मङ्लबार, जेष्ठ ७, २०८२

भारतमा बेचिन लागेका तीन महिलालाई वीरगञ्जबाट उद्धार

भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरुको मंगलबार उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ बर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको छ ।

‘आरूघाट गाँउपालिका बस्ने ३७ बर्षकी एक महिलालाई बिगत २, ३ दिनदेखि राजेश राजेश नाम गरेको फेसबुक साथीले भारतमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाई निज र निजकी १५ बर्षकी छोरी तथा छोरीका १५ बर्षका साथीहरू समेतलाई भारततर्फ लैजादै गरेको थाहा पायौँ’, प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘ग्लुस्टिक प्याकेजिङ गर्ने काममा लगाइदिने, काम सजिलो, तलब पनि धेरै हुने भन्दै लोभ्याएर लैजादै गरेको थाहा पायौँ ।’

उनीहरुलाई हेटौंडासम्म आफै आउन र त्यहाँबाट आफूले सहजिकरण गरेर लैजाने, भाडा पनि सबै बेहोर्ने आश्वास दिएपछि उनीहरु आरुघाटबाट त्यसतर्फ गएका थिए । तर ती तीन महिलाहरु आरुघाटबाट गोरखातर्फ आइरहेका बसका चालक इन्द्रबहादुर थापालाई उनीहरुको गतिविधिमाथि शंका लागेपछि इलाका प्रहरी कार्यालय आरुघाटलाई सूचना दिएका थिए ।

इप्रका आरुघाट, जिप्रका गोरखा, इप्रका आँबुखैरेनी, जिप्रका पर्साको समन्वय र सहकार्यमा उनीहरुलाई गत मंगलबार वीरगञ्जबाट नियन्त्रणमा लिन सफल भएका थिए । ती तीन महिलाहरुलाई जिप्रका गोरखाले आफन्तको जिम्मा लगाइसकेको जनाएको छ । राजेश राजेश नामको फेसबुक एकाउण्ट चलाउने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्