
लार्के पास गर्ने क्रममा बेलायती नागरिकको मृत्यु
लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बिदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ६१ बर्षीय थोम्सन आयन रहेको प्रहरीले जनाएको छ ।
लार्के पास गर्ने क्रममा आइतवार बिहान करिव दश बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी डिजायर एडभेन्चर टे«किङ एजेन्सीमार्फत लार्के पास गर्न आएका थिए ।
‘हेलिमार्फत प्रहरी घटनास्थल जाने तयारी भइरहेको थियो,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘मौसमका कारण आज हेलि उडान हुन सकेन ।’ मौसम अनुकुल भएसँगै हेलि उडान हुने र प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम वस्ती) बाट पैदल तीन घण्टाभन्दा बढी लाग्ने स्थानीय बताउँछन् ।




