
तरबारले जन्मदिनको केक काट्ने गोरखाका दुईसहित सातजना पक्राउ
जन्मदिन मनाउँदा तरबारले केक काट्ने गोरखाका दुईजनासहित सात जना पक्राउ परेका छन् । जन्मदिनको केक काट्ने बहानामा सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको भिडियो, फोटो पोस्ट गरेको भन्दै काठमाडौँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका ७ घर भई काठमाडौँ पवित्रनगर बस्ने २७ वर्षीय सुमन पराजुली, र वडा नं. ६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर, धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं २६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका ६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर रहेका छन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यस्तै, काभ्रे रोशी गाउँपालिका ७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका ११ घर भई पवित्रनगर बस्ने ३० वर्षीय गुणबहादुर गुरुङ र दोलखा बैतेश्वर गाउँपालिका ३ घर भई काठमाडौं ७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १० र १५ जनाको समूहमा रहेका उनीहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए ।
‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ ।’
गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रूपमा हाजिर भएपछि बस्नेतले राजधानीमा उनीहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए । (न्युजकारखानाबाट




