
सुचिना घले हत्या आरोपमा थप एक जना पक्राउ
बारपाककी सुचिना घलेको हत्या आशंकामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । यसअघि तीनजना पक्राउ गरिसकेको प्रहरीले घटना घटेको नवौँ दिनमा आइतबार राती अर्का एकजना पक्राउ गरेको हो । घटनाको जानकारी पाएदेखि बारपाकमै रहेर अनुसन्धानमा खटिएका डिएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो ।
उनलाई सोमबार बिहानै जिल्ला प्रहरी कार्यालयमा ल्याइपु¥याएको जनाइएको छ । यसअघि पक्राउ परेका तीन जना पनि प्रहरी हिरासतमै छन् । घटनास्थलमा भेटिएको टोपी र डोकोसंगको सम्बन्धका आधारमा थप एकजना पक्राउ परेका हुन् । पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ । सघन अनुसन्धानपछि पुष्टि हुने आधारहरु भेटेपछि मात्र आरोपी सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।
गत मंसीर १५ गतेदेखि हराइरहेकी १८ बर्षीया घलेको खोजतलासका क्रममा गत मंसीर १८ गते बारपाक सुलिकोट १ को मैखर्कमा खाल्डोभित्र शव भेटिएको थियो । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको उनको शव आफन्तले बुझ्न नमानेपछि शव पनि टिचिङ अस्पतालमै राखिएको छ ।
नौ दिनसम्म दोषी पक्राउ गर्न नसकेको भन्दै सुचिना घलेको माइती काशिगाउँका बासिन्दा र मानव अधिकारकर्मीहरुले यथासीघ्र दोषी पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर गाउँमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यतथ्य पुष्टि नभएसम्म अनुसन्धान प्रक्रिया चलिरहने प्रहरीको भनाइ छ । पछिल्लो चरणमा थप एकजनालाई पक्राउ गरेपछि काशिगाउँका आफन्तजनहरुले थोरै भएपनि राहत महशुस गरेको जनाएका छन् । तर घटनामा अरु पनि संलग्न हुनसक्ने आशंका गर्दै उनीहरुले अनुसन्धानलाई निरन्तरता दिन माग गरेका छन् ।




