
उत्तरी गोरखाको ‘पठाओ’लाई कारबाही सुरु
माछाखोला क्षेत्रमा नियम बिपरीत भाडामा चल्ने सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारबाही गर्न सुरु गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएका ट्राफिक प्रहरीको टोलीले धार्चे–५ माछाखोला क्षेत्रमा प्रयोजन बिपरीत भाडामा चल्ने सवारी साधनहरुलाई कारबाही गर्न सुरु गरेको जनाएको छ ।
गत शुक्रबारदेखि कारबाही सुरु गरिएकोमा हालसम्म ३१ वटा सवारी साधनहरु कारबाहीमा परिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए । ‘माछाखोला पाङसिङ् सडक खण्डमा प्रयोजन बिपरीत नीजि सवारी साधानहरुले भाडामा यात्रु ओसार्छनभन्ने सूचनाका आधारका काराबाही सुरु गरेका हौँ’, उनले भने, ‘त्यस क्षेत्रमा हाल आरुघाटको ट्राफिक प्रहरीहरु परिचालित हुनुहुन्छ । अवैध रुपमा चल्ने सवारी साधनहरुको व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गर्ने तयारी समेत गरेका छौँ ।’ सोमबारसम्ममा १९ मोटरसाईकल, १० वटा जिप र २ वटा मिनि ट्रक कारबाहीमा परेको उनले जानकारी दिए ।
भर्खर मात्र सडक सञ्जालले छोएको माछाखोला पाङ्सिङ सडकको ३० किलोमिटर खण्डमा करिब ६० वटा पठाओ (प्रयोजन बिपरीत भाडामा चल्ने मोटरसाइकल) चल्ने गरेका छन् । पाङसिङदेखि राजधानी काठमाडौँसम्म सेवा दिने अवैध पठाओले जीपको भन्दा झण्डै तेब्बर बढी भाडा लिएर सेवा दिने गरेको यात्रुहरुको गुनासो छ ।
यस्ता प्रयोजन बिपरीत चल्ने मोटरसाइकलहरुलाई पूर्ण रुपमा रोक्ने कुरा व्यवहारिक रुपमा गाह्रो रहेको डिएसपी सुवेदीको भनाइ छ । ‘के गर्नु दुर्गमका मानिसहरुलाई सेवा चाहिएको छ, कहिलेकाँही इमरर्जेन्सी प¥यो भने भाडाको मोटरसाइकल बाहेक अरु बिकल्प हुँदैन’, उनले भने, ‘यसलाई हटाउने भन्दा पनि व्यवस्थापन गर्ने हो । यस विषयमा हामीले धार्चे गाउँपालिकासँग समन्वय गर्ने तयारी गरिरहेका छौँ ।’
कार्यालयले प्रहरीहरु परिचालन गरी त्यस क्षेत्रहरुमा प्रयोजन बिपरीत मान्छे बोक्ने मोटरसाइकलहरुलाई धमाधम कारबाही गर्न सुरु गरेको उनले बताएका छन् ।




