
बारपाकमा आगलागी, एक घर जलेर नष्ट
गोरखाको बारपाकमा गएराती एक घर आगालागीमा परेर नष्ट भएको छ । गएराती साँढेआठ बजे भएको आगालागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर नष्ट भएको स्थानीय पुरबहादुर गुरुङले जानकारी दिए ।
आगालागीमा परी घरमा रहेका लुगा कपडा, अन्नपात, भाँडाकुँडा र नगद ७० हजार जलेर नष्ट भएको ओमबहादुर घलेले जानकारी दिए । ‘जाडोको बेला बस्ने घर पनि छैन, लगाउने लुगा कपडा पनि बाँकी छैन । ओढ्ने ओछ्याउने पनि छैन’ घलेले भने, ‘खाने कुरा पनि केही छैन ।’

स्थानीय प्रहरीचौकीबाट खटिएका प्रहरी र स्थानीयबासीको पहलमा साँढे नौ बजेतिर आगो नियन्त्रणमा आए पनि घर भने पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पिडितलाई यथासीघ्र सहयोग गर्न स्थानीयबासी, स्थानीय सरकार, विपद व्यवस्थापन समिति, रेडक्रसलाई स्थानीय पुरबहादुर गुरुङको आग्रह छ ।




