
राजु बिक प्रहरी नियन्त्रणबाटै फरार
मण्डली मावि छोप्राकको नयाँ भवनको झ्याल तोडफोड गर्ने राजु बिक प्रहरीको नियन्त्रणबाटै फरार भएका छन् । मंगलबार बिहान प्रहरीले गिरफ्तार गरेको बिक दिउसो नियन्त्रणबाटै गायब भएको विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पोखरेलले जानकारी दिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए । बिकलाई मंगलबार बिहान प्रहरी चौकी चोरकाटेबाट खटिएका टोलीले नियन्त्रणमा लिएका थिए । तर साँझतिर बिक प्रहरी नियन्त्रण बाटै फरार भएको जानकारी आएको प्रअ पोखरेलको भनाइ छ । बिक फरार भएपछि उनीसंग काम गरेका तामाङ थरका अर्का एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘अभियुक्त खोजविन गर्न अनुसन्धानका लागि बिकका साथीलाई नियन्त्रणमा लिएका हौं’ डिएसपी नेपालले भने, ‘बुधबार साँझसम्म पक्राउ गर्न सकिएको छैन । खोजी कार्य जारी छ ।’ सिरानचोक गाउँपालिका ५ छोप्राक स्थित मण्डली माविको जापानी सहयोगी संस्था जाइकाद्वारा नवनिर्मित भवनको ३४ वटा झ्याल स्थानीय बिकले फुटाएका थिए । झ्याल निर्माणको काम गरेका बिकले दररेट नमिलेको भन्दै सोमबार दिउसो घनले हानेर झ्याल ध्वस्त पारेको प्रधानाध्यापक पोखरेलले जानकारी दिए । ‘हामी सो भवनको उद्घाटनको तयारीको बिषयमा छलफल गर्न बैठक बस्दै थियौं’, प्रअ पोखरेलले भने, ‘राजु बिक भन्ने युवाले हाम्रै आँखाअघि घनले ड्याङका ड्याङ हानेर फुटाए ।’ आफूहरुको आग्रह अटेरी गरी फुटाएको उनले बताए ।




