
आफैले सिकेको गाडी आफ्नै चिहान बनेपछि
गोरखा फुजेलका ३८ बर्षका नवराज तिवारीले २०५८ सालदेखि नै बसको खलाँसी बन्न सिकेका हुन् । १६ बर्षको उमेरमा खलाँसी बनेर उनी जुन बसको ढोकामा झुण्डिन सिके, त्यही बसको सहचालक बनेर काम गर्दागर्दै गत शनिबार बिहान उनको जीवन समाप्त भयो । ना ४ ख २२७० नंबरको बसमा गोरखाबाट काठमाडौँ जाँदै गर्दा धादिङको झ्याप्लेखोला पहिरोमा पुरिएर उनको अरु दुई साथीहरुसंग एकै चिहान भयो ।
उनको यातायात पेशा सरल रेखामा कुदेन । जब बूढीगण्डकी जलविद्युत आयोजनाले मुआब्जा बाँड्यो, उनले पनि केही रकम हात पारे । जुन बसमा खलाँसी बनेर २० बर्ष बिताए, त्यही बस किनेर बसको साहु बन्ने घरसल्लाह मिल्यो । उनले २६ लाखमा अर्जुन भट्टसंग सो बस किने । हिजोसम्मको खलाँसी आज गाडी साहु बने । साहुमात्र बनेनन्, सो गाडीको चालक पनि आफै बनेर स्वरोजगार बने । केही समयपछि नामी ड्राइभर रिठ्ठेकालेलाई ड्राइभर नियुक्त गरे ।
भीमसेनथापा गाउँपालिका ४ धावाका रिठ्ठेकालेको लाइसेन्सको नाम भने मदन परियार थियो । कोभिडका कारण बिजनेस नपाएपछि तिवारीले किस्ता तिर्न सकेनन् । यही मेसोमा अढाइ बर्षअघि ड्राइभर मदन परियारले १९ लाख ५० हजारमा सो बस किनेका थिए । २६ किस्ता तिरिसक्दा पनि उनले गाडीको छ लाख ३० हजार अझै तिर्न बाँकी नै थियो ।
‘गाडी बेचेपछि फाल्टु भएर बसिरहेका नवराजलाई रिठ्ठेकालेले पार्टटाइम कन्डक्टरको काम दिने गरेका रहेछन् । अस्ति शुक्रबार पनि जाम काठमाडौँ भनेर कन्डक्टर बनाएर लगेका रहेछन्’, सोही बसका संस्थापक साहुजी अर्जुन भट्टले भने, ‘भर्खर एक महिनादेखि खलाँसी सिक्दै गरेको विनय भट्टराई पनि त्यही बसमा थियो । आखिरीमा एउटै बसभित्र तीनैजनाको एकै चिहान भयो ।’
पहिरोमा पुरिनुअघि रिठ्ठेकाले ड्राइभरले राती साँढे १० बजेतिर लापुवेशीबाट काठमाडौँ जाने नाइट बसका ड्राइभर दीपक सुनारलाई फोन सम्पर्क गरेका थिए । ‘हामी बिहान साँढे सातबजे त्यहाँबाट आएको त अहिलेसम्म यहीँ जाममा छौँ । तपाईँ त यहाँ आइपुग्दा भोलि बिहान हुन्छ होला भनेको रहेछ’, अर्जुन भट्टले भने, ‘दीपकले सरकारले नाइट बस नहिँडाउनू भनेको छ ।
हामी त आउँदैनौँ भन्ने जवाफ फर्काएका रहेछन् ।’ आफै साहु, आफै ड्राइभर बनिरहेका मदन, यसअघिका खलाँसी, कन्डक्टर र गाडी साहुसमेत बनेका नवराज र भर्खर एक महिनादेखि खलाँसी सिक्दै गरेका विनय तीनैजनाको एउटै चिहान बन्यो सोही बस । बसमा जम्मा दुई जना अरु यात्रु थिए । धार्चे गाउँपालिकाका ७ खानीगाउँका २७ बर्षीय सुकबहादुर गुरुङ र उनकै साथी । सुकबहादुरले मुग्लिनमा सो गाडी चढाएका साथीको भने अझै सनाखत हुन सकेको छैन ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको सहयोगी बनेर जान लागेका गुरुङ सोही बसभित्र थिए । १०, १२ दिन ट्रेकिङमा हिडेर दशैँअघि घर फर्किने योजना बनाएर गएका उनी अब कहिल्यै फर्कन पाएनन् । उनले राती दुई बजे दिदी मल्ली गुरुङलाई जाममा परिरहेका बेला सम्पर्क गरेका थिए । ‘हामी त अहिलेसम्म सुरुङको मुखनेर जाममा छम् भनेर दिदीलाई फोन गरेका रहेछन्’, भाउजु आइती माया गुरुङले भनिन्, ‘त्यसपछि तीनबजेतिर त घटना भएको रहेछ ।’




