
पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव फेला
झ्याप्लेखोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव भेटिएको छ । चालक दलका तीन र दुई यात्रुको शव भेटिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए ।
आइतबार उद्धारका क्रममा बसभित्र ना ४ ख २२७० नंबरको बस र सोका धनी तथा चालक मदन परियारको शव पहिचान भएको हो । उनी भिमसेन थापा गाउँपालिका ४ धावाका हुन् । साथै चालक दलक धावा निवासी विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव फेला परेको खत्रीले बताए ।
दुईजना यात्रुमध्य एकजना धार्चे गाउँपालिका ७ खानीगाउँका २७ बर्षका सुकबहादुर गुरुङ रहेको त्यहाँका वडाअध्यक्ष राकेश गुरुङले पुष्टि गरेका छन् । अर्का यात्रु सुकबहादुरकै सम्पर्कमा मुग्लिनबाट सो बसमा चढेका थिए । उनको पहिचान नखुलेको उनले बताए ।
गत शुक्रबार धार्चे ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको सो बस आइतबारसम्म सम्पर्कबिहिन थियो । झ्याप्लेखोला पहिरोमा धेरै सवारी साधन पुरिएकाले खोजीका क्रममा सो बस र उनीहरु भेटिएका हुन् ।
तस्वीर : सशस्त्र प्रहरी ।




