
बारपाकबाहेक गोरखाका सबै मुख्य सडकहरु सुचारु
गोरखा–बारपाक सडकबाहेक अन्य सबै मुख्य सडकहरु सुचारु भएका छन् । गत शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडकखण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर ध्रुब प्रसाद शर्माले जानकारी दिए । उक्त सडकखण्ड तत्कालै खुल्न सक्ने अवस्था नरहेको पनि उनले बताएका छन् ।

जिल्लाका अरु प्रमुख सडकहरुको अवस्था भने सामान्य रहेको शर्माले जानकारी दिए । ‘गोरखा–बारपाक बाहेक गोरखा–आँबुखैरेनी, गोरखा–आरुघाट सडक पनि अबरुद्ध बनेको थियो । स्थानीय तह, प्रहरी, यातायात ब्यबसायी, स्थानीयबासीहरुको संयुक्त पहलबाट केहीबेरमै पहिरो पन्छ्याई सडक सुचारु गराइएको छ’, उनले भने, ‘गोरखा आँबुखैरेनी सहायक राजमार्गसहित अन्य ग्रामीण सडकहरुको अवस्था हाल सामान्य छ ।’ अति आवश्यकबाहेक सामान्य काममा यात्रामा ननिस्कन र अति आवश्यक काम परेमा उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय गोरखाले अनुरोध गरेको छ ।




