
१० किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ
दरौँदी समाचारदाता ः तिब्बत सीमाना कटाएर अबैध रुपमा ल्याएको १० किलो सुनसहित ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच–पाँच किलो सुन ल्याएका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ बर्षका डुण्डुप लामा र २८ बर्षका लोप्साङ पेम्बे लामालाई पक्राउ गरिएको प्रहरी चौकी सिर्दिबासका इन्चार्ज प्रहरी नायब निरीक्षक तुलबहादुर सेन ठकुरीले जानकारी दिए ।
‘सिर्दिबास चौकीमा यात्रुलाई लाइन लगाएर नियमित चेकजाँच गर्ने क्रममा थियौं’, सई ठकुरीले भने, ‘उनीहरुको शरीर चेकजाँच गर्दा कम्मरमा बाक्लो पेटी जस्तो फेला प¥यो । सोधखोज गर्दा सुनलाई कपडाले बाँधेर पेटीजस्तो बनाएर लुकाइछिपाइ ल्याएको रहेछ ।’ सुन र दुवै जनालाई सुरक्षित साथ राखेको उनले बताए । बरामद भएको सुन तथा ओसारपसार गर्ने दुवै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी गरेको सई ठकुरीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा डुण्डुप लामा यसअघि पनि नियमित तिब्बत जाने आउने गर्ने पाइएको छ । ‘डुण्डुपसंग नियमित रुपमा तिब्बत आवतजावत गर्ने पासपोर्ट जस्तो कार्ड पनि रहेछ’, सई ठकुरीले भने, ‘सुनका मुख्य साहु तिब्बती नै रहेको बताएका छन् । बाँकी सोधखोज बाँकी छ ।’




