| सोमवार, कार्तिक २३, २०८३

मसेलमा एकै रातमा एक सहकारी र तीन घरमा चोरी

गोरखामा चोरको बिगबिगी बढिरहेका बेला मसेल पनि यसबाट पिडित बनेको छ । गत शनिबार राती भिमसेनथापा गाउँपालिका वडा नं १ मसेलमा एक सहकारी र तीन घरहरुमा चोरी भएको हो ।
मसेलको खगीथोकस्थित बृन्दावती महिला बचत तथा ऋण सहकारी संस्था र माँझथोकस्थित दुई पसल र एउटा घरमा चोरी भएको सो वडाका वडाअध्यक्ष बिकास श्रेष्ठले जानकारी दिए ।
खगीथोकको सहकारी र माँझथोकको एउटा घर, किराना पसल र कस्मेटिक पसलमा चोरी भएको उनले बताए । बृन्दावती महिला बचत तथा ऋण सहकारी संस्था र माँझथोकको अन्जन श्रेष्ठको घर, अन्जना अधिकारीको कस्मेटिक पसल र गकुल अधिकारीको किराना पसलमा चोरी भएको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘घर र पसलहरुमा धेरै सामाग्री नभएका कारण ठुलो रकम चोरी हुन पाएन, सहकारीबाट भने ठुलै रकम चोरी भएको खबर आएको छ’, उनले भने । शनिबार राती भारी वर्ष भएको र त्यसैसमय गाउँमा बिजुलीबत्ती पनि नभएको मौका छोपेर चोरले चोरी गरेको हुन सक्ने उनले बताए ।
बृन्दावती सहकारीबाट १ लाख २८ हजार रकम चोरी भएको त्याहाँ कार्यरत कर्मचारी सुनिता श्रेष्ठले बताइन् । ‘गाउँघरमा संचालित सहकारी हो त्यसैले, सिसिटिभि क्यामेरा, सुरक्षा गार्ड केही पनि राखेका थिएनौँ’, उनले भनिन्, ‘मेरो घर पनि यहीँ हो । आज(आईतबार) बिहान खेतमा काम गर्न जाँदै थिएँ । मेरो अफिस बाटैमा पर्छ । खेतमा जाने क्रममा टाढाबाटै अफिसको ढोका खुलेको देखेँ । झस्किएर दौडदैँ आएर हेरेँ अफिसको ढोका फुटाएको रहेछ केही नसोची वडाअध्यक्षलाई खबर गरेकी हुँ ।’ बैँकमा इन्ट्री गर्न बाँकी रहेको रकम सबै चोरी भएको उनले बताइन् ।
सामान्यतया अफिसमा रकम नराख्ने गरेको उनी बताउँछिन् । ‘शुक्रबार भने ढिला भएर त्यसैँ हिँडेका थियौँ, शनिबार बिदाको दिन कोही आएनौँ, रातमा त्यस्तो घटना घटेछ’, उनले भनिन् ।
उक्त घटनाबारे तिब्र रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्