| सोमवार, कार्तिक २३, २०८३

आँबुखैरेनीमा सडक दुर्घटना बढ्यो, दुई महिनाभित्रै सातवटा दुर्घटना


तनहुँको आँबुखैरेनी बजारमा सवारी दुर्घटना बढिरहेको छ । गोरखाचोकदेखि गाउँपालिका कार्यालय अगाडिसम्मको सडकखण्डमा सवारी दुर्घटना बढ्ने गरेको स्थानीयको गुनासो छ ।


शनिबारमात्र सो सडकखण्डमा दुई वटा अलग अलग दुर्घटना भएका छन् । शनिबार बिहान एक मिनेटको अन्तरालमा दुई अलग अलग बस चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । बिहान करिब ८ बजेको समयमा सिमसिम पानी परिरहेका बेला एक मिनेटको अवधिमा करिब एकसय मिटरको दुरीमा दुईवटा बस दुर्घटना भएको हो ।


लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको बिद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस आफै अनियन्त्रित भै सडकमा पल्टिएको हो । उक्त दुर्घटनामा परी १३ जना यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।


सो खण्डमा सडक धेरै चिल्लो र चिप्लो हुँदा चिप्लिएर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयबासीको आरोप छ । ‘गत जेठ महिनायता त्यत्ति दुईसय मिटर सडक खण्डमा सातवटा दुर्घटना भइसक्यो’, स्थानीय जनप्रतिनिधि मनोज श्रेष्ठले भने, ‘त्यहाँ सडक स्तरोन्नति गर्दा प्राविधिक त्रुटी भएको हुनसक्छ । गत वैशाख, जेठ महिनामा सडक डिभिजनले त्यहाँ सडक स्तरोन्नतिका लागि बिटुमिन ओछ्याएको थियो । त्यतिबेला बिटुमिन, कङ्क्रिट र बालुवाको अनुपात नमिलाई राखेको हुनसक्छ । त्यसैले दुर्घटनाको दर उच्च भयो ।’ आफूहरुले त्यहाँको समस्या समाधानका लागि सडक डिभिजनमा गुनासो गरिरहेको श्रेष्ठले बताए ।


त्यस खण्डमा सडक बढि चिप्लो भएको र उच्च गतिमा सवारी चलाएका कारण दुर्घटना बढि भएको सडक डिभिजन दमौलीका सब इञ्जिनियर दीपेन्द्र पन्तले जानकारी दिए । त्यहाँ वल्र्डवाइड, पशुपति जेभी निर्माण कम्पनीले गत वैशाख जेठ महिनामा बिटुमिन बिछ्याउने काम गरेका पन्तले बताए । बिटुमिन बिछ्याउने क्रममा धुलो उँड्यो भनेर स्थानीयले अवरोध गरेकाले निर्माण कम्पनीले अनुपात मिलाएर काम गर्न नसकेको र अहिले समस्या सिर्जना भएको पन्तले बताए । ‘अबरोध पनि भयो, पानी परेर बालुवा बगाएर पनि लग्यो त्यसैले अहिले दुर्घटना बढिरहेको हुनसक्छ’, पन्तले भने, ‘सो समस्या समाधानका लागि छिट्टै प्रयास गर्ने तयारीमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्