| सोमवार, कार्तिक २३, २०८३

गोरखा पहिरो अपडेट : वेपत्तामध्ये एक जनाको शव भेटियो, बाँकीको खोजी कार्य जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङको शव घरभन्दा करिव २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘हिजो देखि खोजी कार्य जारी थियो,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘आज दिउँसो करिव साढे एक बजे उनको शव फेला प¥यो ।’
शनिवार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको उनले जानकारी दिए । ‘अन्दाजी ३५ बर्षीया महिलाको शव फेला परेको छ,’ उनले भने, ‘त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरेका छौ, आफन्तहरुसँग बुझ्ने काम भइरहेको छ ।’
आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने गोरखाका २४ बर्षीय रमेश परियार वेपत्ता भएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उनीहरुको खोजी कार्यमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्