| सोमवार, कार्तिक २३, २०८३

गोरखामा एकबर्षमा ७१ जनाद्वारा आत्महत्या, महिलाभन्दा पुरुषको संख्या बढी

घरभित्रको, बाहिरको थिचोमिचो र बिभिन्न खाले हिंसाको तनाबका कारण आत्महत्या गर्ने महिलाको संख्या धेरै हुन्छ भन्ने धेरैको आँकलन हुनसक्छ, तर जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांकले यो अनुमानलाई झुठो सावित गरिदिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा गोरखामा आत्महत्या गर्नेको संख्या ७१ रहेको छ ।

प्रहरी कार्यालयमा दर्ता भएका कुल ३ सय ३१ मुद्दामध्ये सबैभन्दा धरै आत्महत्या शीर्षकको रहेको थियो । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार आत्महत्या गर्नेमा ४३ जना पुरुष र २८ जना महिला रहेका छन् ।

सोभन्दा अघिल्लो बर्ष २०७९/०८० पनि महिलाभन्दा धेरै पुरुषले आत्महत्या गरेका थिए । प्रहरी कार्यालयका अनुसार सो बर्ष ५५ जना पुरुष र २३ जना महिलाले आत्महत्या गरेका थिए । डिएसपी श्रेष्ठका अनुसार गत आर्थिकवर्ष झुण्डिएर आत्महत्या गर्नेको सङख्या ६४ रहेको छ भने, पानीमा हाम फालेर आत्महत्या गर्नेको सङख्या ६ र विष सेवन गरी आत्महत्या गर्नेको सङख्या १ रहेको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत आव आत्महत्या गर्नेमा सबैभन्दा बढी गोरखा नगरपालिकाका रहेका छन् । सो नगरका १२ पुरुष र ७ महिलाले आत्महत्या गरेका डिएसपी श्रेष्ठले बताए । त्यस्तै आत्महत्या गर्ने दोस्रो ठूलो संख्या पालुङटार नगरपालिकाको छ । त्यहाँका ७ पुरुष र ५ महिलाले आत्महत्या गरेका कार्यालयले जनाएको छ ।

यस्तै, आरुघाट गाउँपालिकाको ३ पुरुष र २ महिला, गण्डकीको ४ पुरुष, बारपाक सुलिकोटको ३ पुरुष र ५ महिला र अजिरकोटको १ पुरुष र ४ महिलाले गत आव आत्महत्या गरेका थिए । यता भिसमेन थापाका ६ जना पुरुषले आत्महत्या गरेका थिए भने सिरानचोक र शहिदलखन गाउँपालिकाका ३ जना महिला र ३ जना पुरुषले आत्महत्या गरेका थिए ।

योभन्दा अघिल्लो २०७९/८० मा जिल्लाभर ७८ जनाले आत्महत्या गरेका थिए । कार्यालयको तथ्याङ्कका अनुसार ५५ जना पुरुष र २३ जना महिला रहेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३३ जना पुरुष र ३५ जना महिला गरी जिल्ला भर कुल ६८ जनाले आत्महत्या गरेका थिए ।

मानसिक, आर्थिक र सामाजिक कारणले आत्महत्या गर्नेको सङख्या बढ्दै गएको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठक बताउँछन् । ‘आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ’, उनले भने, ‘आर्थिक समस्या र बेरोजगार यसको प्रमुख कारक हो ।’

प्रतिक्रिया दिनुहोस्