
गाई काटेको आरोपमा एक पक्राउ
गाई काटेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबजार बस्ने ३२ बर्षीय हाउडे भन्ने सविन बिक रहेको प्रहरीले जनाएको छ ।
‘बिहीबार सोही स्थान बस्ने आईत सिं बिकले आफ्नो गोठमा बाँधी राखेको करिब ४ वर्षको गाई सबिनलाई दिएका रहेछन्,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘सबिनले उक्त गाईलाई बुढीगण्डकी किनारमा लगि काटेछ र जाहेरी परेपछि हामीले उनलाई पक्राउ गरेका हौ ।’
घटनास्थलबाट गाईको टाउको, खुट्टा लगायतको अंगहरु र खुकुरी र दाउ समेत फेला परेको उनले जानकारी दिए ।
बिक बिरुद्ध शुक्रवार पशुपंक्षी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




