
अपांग महिला बलात्कारको आरोप लागेका बराम पुर्पक्षका लागि थुनामा
शारीरिक एवं मानसिक रुपमा अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका एकजनालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
घटनाको तीन महिनापछि पक्राउ परेर प्रहरी अनुसन्धानमा रहेका भिमसेन थापा गाउँपालिका वडा नं १ मसेल बस्ने ४५ वर्षीय कुलमान बरामलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । गत फागुन २३ गते एक अपांग युवतीमाथि ललाइफकाइ जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ । उनलाई गत वैशाख ६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शारीरिक एवं मानसिक रुपमा अपाङ्गता भएकी युवतीमाथि जबरजस्ती करणी गरेको आरोप प्रहरीले खोजी गरेको थाहा पाएपछि बराम तीन महिनादेखि फरार थिए । बरामले गत फागुन २३ गते शारीरिक एवं मानसिक रुपमा अपाङ्गता भएकी १९ वर्षीय युवती ‘व कुमारी’लाई फकाई फुलाई गाई बस्तु बाध्ने गोठमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै युवतीका बुबाआमाले त्यतिबेलै प्रहरीमा जाहेरी दिएका थिए ।
निरन्तरको खोजीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । बरामलाई यही बैशाख ६ गते भीमसेन थापा गाउँपालिका १ मसेलबाट पक्राउ गरीएको श्रेष्ठले बताए ।
उनीमाथि जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात जिल्ला अदालत गोरखामा पेश गराइएको र अदालतको सोमबारको आदेशले प्रतिवादी पुर्पक्षको लागि कारागार थुनामा पठाइएको प्रहरीले जनाएको छ ।




