
मृत भेटिएका गोरखाका युवकको हत्या आरोपमा सात जना पक्राउ
तनहूँको आँवुखैरेनीमा मृत अवस्थामा भेटिएका गोरखाका एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । शहिद लखन गाउँपालिका–३ मनकामना सिलिङका अमन गुरुङ वुधवार छिम्केश्वरी मन्दिर जाने सडकको जंगल नजिकै मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानको क्रममा उनको हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१३ का २४ वर्षीय सन्तोष गुरुङ, आबुखैरेनी गाउँपालिका–३ का २५ वर्षीय रोहित घले, २४ वर्षीय आशिष काराखेती, २६ वर्षीय बलराम श्रेष्ठ, ३१ वर्षीय सागर श्रेष्ठ, २१ बर्षीय कुशल गुरुङ र एकजना नाबालक रहेको प्रहरीले जनाएको छ ।
गत मंगलवार राती करिव ९ बजे मादक पदार्थ सेवन गरी एक आपसमा विवाद हुदाँ अमनलाई जंगलको भिरबाट एक सय १० मिटर तल चन्दनी खोल्सामा खसाली हत्या गरेको आरोप उनीहरु माथि छ । उनीहरु बिरुद्ध ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताए ।




